
जनकपुरधाम-पछिल्लो समय भ्रष्टाचारमा प्रदेश-२ सरकार लिप्त रहेको विभिन्न आराप लागि समय प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनुदानमा बाँडेको अधिकांश कृषि उपकरण पार्टीका कार्यकर्तालाई वितरण गरेको देखिएको छ। प्रदेश २ मा रहेका कुल जनसंख्याको ६९ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ।
प्रदेश २ कृषिको लागि एकदमै उपयुक्त भएपनि यहाँ सिँचाईको अभावमा किसानहरु राम्रो खेती गर्न नपाइरहेको समय कृषि मन्त्रालयले सिँचाइका लागि किसानलाई वितरण गरेको अधिकांश सोलार पम्प सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्तालाई वितरण गरेको पाईएको छ।
तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आर्थिक वर्ष २०७५-०७६ मा प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको छ। तर मन्त्रालयले सोलार पम्प वितरण गरेपनि त्यसमा सोलार पम्प पाउने अधिकांश व्यक्ति समाजवादी पार्टी र केही राजपाका कार्यकर्ता रहेको पाईएको छ।
मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला सप्तरीमा वितरण गरिएको छ। सप्तरीमा सबैभन्दा बढि ४८ वटा पम्प वितरण गरिएको छ भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै धनुषा ४५, सर्लाही ४४, सिरहामा २६, बारा २३, पर्सा २१ र रौतहट १४ वटा पम्प वितरण गरिएको छ। १ लाख १ हजार रुपैयाँ पर्ने एउटा सोलार पम्पमा ८५ प्रतिशत रकम सरकारले अनुदान दिएको छ भने १५ प्रतिशत किसानले स्वयम् तिरेका छन्।
सामान्य जनतालाई दिनु पर्ने अनुदान मन्त्रालयले आफ्नो कार्यकर्तालाई पाल्नमा खर्च गरिरहेको विपक्षीहरु आरोप लगाएका छन्। सोलार पम्प पाउनेमा सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालबाट निर्वाचित वडाध्यक्ष, वडासदस्य र समान्य कार्यकर्ता रहेको छ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको विपक्षिहरुले विभिन्न ठाउँमा बोल्दै आएका छन् भने केहि दिन पहिला मात्रै सार्वजनिक मञ्चबाट नै नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत प्रदेश २ भ्रष्टाचारीमा लिप्त भएको आरोप लगाएका थिए।
यता विभिन्न प्रक्रिया पूरा गरी पारदर्शी हिसाबले मात्र किसानहरुलाई सोलार पम्प वितरण गरिएको कृषिमन्त्री शैलेन्द्र साहले दाबी गरे। उनले भने, ‘पत्रिकामा सूचना निकालेर सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र पम्प वितरण गरिएको छ।’
मधेश आन्दोलनको जगमा बनेको प्रदेश सरकारले जनतालाई पाल्नुको साटो आफ्नो कार्यकर्ता तथा आसेपासेलाई पाल्न थालेपछि सर्वसाधारणमा यसको नाकारात्मक प्रभाव पर्ने निश्चित रहेको छ।