
धनगढी-यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुख गम्भीर सिंह बिष्ट सहित तीन जनालाई अख्तियारको टोलीले बिहिवार पक्राउ गरेको छ।
एक जनाको सेवाग्राहीको गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बिहिवार विहानै देखि कार्यलयमा निगरानी गरेको थियो।
आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर विष्टका अनुसार कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँ सहित रंगेहात नियन्त्रणमा परेका छन्।
सूचना अधिकारी बिष्टले भने–‘आज बिहानै देखि हाम्रो टोलिले निगरानी गरीरहेको थियो, बेलुकापख तिन जना कर्मचारीले थप रकम घुष मागिरहेका वेला रंगेहात पक्राउ गरेको छ।’
उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि आयोगको शाखा कार्यालय महेन्द्रनगरमा लगिएको छ।
सूचना अधिकारी बिष्टले भने–‘अब थप कागजी प्रकृया मिलाएर भोली शुक्रबार नै आयोगको केन्द्रिय कार्यालयमा पठाउँछौ र केन्द्रिय कार्यालयले मुद्धाको प्रकृया अगाढी बढाउँछ।’
‘सामान्यतया रंगेहात घुष सहित पक्राउ परेका तिनै जनाको जागिर त जाने नै भयो’ सूचना अधिकारी बिष्टले भने–‘थप कार्वाही अदालतको फैसलाका आधारमा हुन्छ।’