
सिमकोट-हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोड्ने मुगु–हुम्ला लिंक रोडको प्रारम्भिक ट्रयाक खोल्ने कार्य अब १३ किलो मिटर मात्र बाँकी रहेको छ।
कुल ६७ किलो मिटर लम्बाईमध्ये हालसम्म ५४ किलो मिटर सडकको ट्रयाक खोल्ने कार्य पुरा हुँदा अब केही भाग मात्र बाँकी रहेको हो।
मुगुको गमगढीदेखि हुम्लाको देउलीसम्म ६७ किलो मिटरमध्ये ५४ किलोमिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भएको लिंक रोडका सेफ गार्ड विशेषज्ञ शंकर शर्माले बताए। यो कुल कामको करिब ८० प्रतिशत हो।
यो मध्ये गमगडीदेखि मुगु कर्णालीसम्मको चार किलो मिटर सडक यसअघि निर्माण भएको हुँदा त्यसको स्तरोन्नति गर्ने कार्य भएको छ। बाँकी मुगु कर्णालीदेखि चंखेली गाउँपालिकाको वडा नम्बर १ को बोहोराबाडासम्म पचास किलो मिटर सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको छ।
अरु बाँकी १३ किलो मिटरमा पनि काम धमाधम भइरहेको र बर्खायामले गर्दा काममा केही अवरोध खडा भएको छ। मौसम तथा सडक निर्माणसँग सम्बन्धित अन्य पक्षले साथ दिए आगामी सेप्टेम्बरसम्म देउलीसम्म सडक निर्माणको काम पुरा गरि सक्ने गुमु हुम्ला लिंक रोड परियोजनाले जनाएको छ। बाँकी दश महिनामा ट्रयाक खोलिएको सडकमा स्तरोन्नतिको कामहरु सञ्चालन हुनेछन्।
सन् २०१८ को नोभेम्बरबाट निर्माण कार्य सुरु भएको रोडको कार्य सन् २०२० को अक्टोबरमा सम्पन्न हुने लक्ष्य राखिएको छ। सो लक्ष्यलाई निर्धारित समयमा पुरा गर्ने विशेषज्ञ शर्माले बताए।
यस सडकको कुल लागत एक करोड ५५ लाख पाउण्ड रहेको छ। यो सडक निर्माणका लागि बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले अनुदान सहयोग गरेको हो। सडक निर्माणका लागि एक दर्जन स्काभेटरहरु मुगु हुम्ला लिंक रोडले भाडामा ल्याएर निर्माण कार्य द्रुत गतिमा गरि रहेको छ।
स्काभेटरले सडक छिचोल्ने कार्य गरेसँगै स्थानीय कामदारद्वारा ग्याबिन भर्ने र गाह्रो लगाउने काम पनि सँगसँगै भइरहेको छ।
साढे चार मिटर चौडा सडक निर्माणमा प्रयोग हुने मेसिन चलाउनका लागि आवश्यक चालकका लागि २६ जना स्थानीय युवाहरुलाई राष्ट्रिय सीप परिक्षण बोर्डबाट तालिम प्रदान गरि प्रयोगमा ल्याइएको हो।
सडक निर्माणका क्रममा चालिस प्रतिशत महिला कामदारहरु रहेका छन्।
यसअघि पनि र्याप थ्रीले देउलीदेखि सलीसल्लसम्मको सडक निर्माण गर्ने कार्य पुरा गरेको छ। यसबिचमा पर्ने लोती खोलामा पुल निर्माणका गि कर्णाली प्रदेश सरकारले बजेट विनियोजित गरि सकेकोले काममा तिब्रता दिनु आवश्यक छ।
यो खण्ड हुम्ला, मुगु, जुम्ला हुँदै सुर्खेतसम्मको पुरानो व्यापारिक रुट पनि हो। यसको निर्माण पश्चात सडक सञ्जालबाट यो व्यापारले पूनर्जीवन पाउने छ।