
सिमकोट – हुम्लामा चालु आर्थिक वर्षमा बहुप्राविधिक विद्यालय स्थापना हुने भएको छ । विद्यालयको स्थापना भएपछि हाल जिल्लाबाट प्राविधिक विषय अध्ययन गर्न विद्यार्थीहरु जिल्ला बाहिर जाने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा जिल्लामा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्न लागेको सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताए । ठूलो रकम खर्च गरेर प्राविधिक विषय अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने विद्यार्थीको बाध्यता अन्त्य गर्नका लागि जिल्लामै बहुप्राविधिक विद्यालय स्थापन गर्न लागिएको उनले बताएका छन् ।
यसका लागि कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरेको छ । जिल्लाकै पुरानो विद्यालय मानसरोवर नमूना माध्यामिक विद्यालयको ५९ औँ वार्षिक उत्सव तथा अविभावक दिवसको अवसरमा मन्त्री रावलले अब स्थापना हुने बहुप्राविधिक धारको विद्यालयमा कृषि, पशु, स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन र होटेल म्यानेजमेण्ट विषय अध्ययन सुरु गर्नु पर्ने बताए ।