
धनगढी– सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाइफस रोगको प्रकोप देखिएको छ। डेंगु र स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ भने ८ जनामा डेंगुको संक्रमण देखिएको छ।
डेंगु रोगबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ की छत्राकुमारी मलासीको मृत्यु भएको र कैलालीमा पाँच, दार्चुलामा दुई र कञ्चनपुर एक जना डेंगुका बिरामी भेटिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
स्वास्थ्य अवस्था गम्भिर देखिएका एक जनाको सेती प्रादेशिक अस्पताल र अर्का एक जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए। डेंगु रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने डाक्टर शुषेषराज कायस्थले बताए।
सूचना अधिकारी खड्काका अनुसार स्क्रब टाइफसका कैलालीमा ५ र डडेल्धुरामा २० जना बिरामी भेटिएका छन्। स्वास्थ्यकर्मीको खोज पडतालका क्रममा ती बिरामी भेटिएको खड्काले बताए । खडकाले भने, ‘मन्त्री ज्युले प्रदेशका सबै अस्पतालमा औषधी उपचारमा अभाव हुन नदिन निर्देशन दिईसक्नुभएको छ, मन्त्रालयले पनि मन्त्री ज्युको निर्देशन अनुसार काम अघि बढाईरहेको छ।’
स्क्रब टाइफस मुसामा रहेको किर्ना जातको भारइसको टोकाइबाट मानिस सर्ने गर्छ। यसको भाइरस घासपातमा भेटिने गर्छ। घाँटी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन्।
डेंगुका कारण एक जनाको मृत्यु भएपछि डोटीमा रोगको रोकथामकाे अभियान सुरु गरिएको छ। डेंगु फैलिएपछि शनिबार थाप्ला गाउँमा जिल्लाका सरोकारवालाहरुको संयुक्त टोलीले डेंगु बारेमा जानकारी गराएको थियो। साथै डेंगु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य गरिएको छ।
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, जिल्ला समन्वय समिति उप–प्रमुख शशी शोव, डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी उपरीक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधी, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर भुषण मिश्र लगायतको टोलीले डेंगु रोग सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थानको खोजी र नष्ट गर्ने कार्य गरेको थियो।
स्वास्थ्य कार्यालय डोटीका विष्णुराज जोशीले थाप्ला गाउँमा जाँदा टाईगर मस्क्विटो भनेर चिनिने एडिस प्रजातीको लामखुट्टे फेला परेको बताए। उनले आसपासका स्थानमा पनि एडिस लामखुट्टेले पानीमा फुल पारेको भेटिएको र उक्त फुलहरु नष्ट पारिएको जानकारी दिए।
दिपायल सिलगढी नगरपालिका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले शुक्रबार दिपायल सिलगढी नगरपालिका भित्रका स्वास्थ्य चौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखहरुसँग डेंगु रोग राकथामका बारेमा समन्वय बैठक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको बताए। साथै दिपायल र सिलगडीका स्वास्थ्यकर्मीले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई पनि रोगबारे अभिमुखिकरण गराएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँमा आमा समूह, महिला समूहमार्फत डेंगु बारे सचेतना फैलाउने बताइएको छ। विद्यालयमा समेत डेंगुका बारेमा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ।
विशेष गरी दिउँसो टोक्ने एडिस लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भइराखेको पानी, टायर, बोत्तल र बिर्काेहरु लगायतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नुपर्ने लगायतका उपाय अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ।