
जनकपुरधाम– एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगी गरेको आरोपमा प्रहरीले श्याम कृष्ण साह परदेशीलाई पक्राउ गरेको छ।
आइतबार विभिन्न सञ्चार माध्यममा परदेशीले ठगी गरेको समाचार आएपछि अनुसन्धानको लागि प्रहरीले उनलाई उनकै घर सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० स्थित घर नजिकबाट पक्राउ गरेको सर्लाहीका प्रहरी उपरिक्षक गोपाल भट्टराईले जानकारी दिए।
आर्थिक अवस्था कमजोर भएकाहरुको विवशताको फाइदा उठाई चर्को ब्याजमा ऋण दिने र ७ वटासम्म तमसुक बनाई चरम शोषण गर्ने गरेको समाचार आज विभिन्न मिडियामा सार्वजनिक भएको थियो।
साहबाट प्रताडित ऋणी महिलाहरुको एक समुह काठमाडौँ पुगेर सम्बन्धित निकायसँग गुहार माग्न पुगेपछि यस्तो रहस्य सार्वजनिक भएको हो।
परदेशीले २ सय ९९ जनालाई ऋण दिएर मोटो रकमको तमसुक बनाएर शोषण गर्दै आएका थिए।