
हुम्ला, सिमकोट – नेपाल टेलिकमको मोबाइल र टेलिफोन सेवा नपुगेको हिल्सामा पहिलोपटक इन्टरनेट सेवा सुरु भएको छ । कर्णाली प्रदेशभरी इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट सेवा हिल्सामा पुर्याएको हो ।
योसँगै हिल्साबासीले पहिलो पटक इन्टरनेट चलाउन पाएको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरीक्षक दलबहादुर श्रेष्ठले बताए । अब आफन्तसँग कुराकानी गर्न र देश विदेशका खबर थाहा पाउन सहज भएको उनले जनाएका छन् । हिल्साका नेपालीहरुले चिनियाँ सिमबाट नेपालमा कुराकानी गर्दै आएका छन् । तर अब इन्टरनेट भएपछि त्यो क्रम केही कम हुने अपेक्षा गरिएको छ ।
नेपाल र चीनको सिमाना समेत रहेको हिल्सामा नेपाली इन्टरनेट सेवा निकाय वर्ल्ड लिंकले हाललाई एक लाईन इन्टरनेट सेवा सञ्चालनमा ल्याएको उक्त कम्पनीका नेटवर्क सुपरभाईजर विजय लामाले बताए ।
पाँच हजार मिटर अग्लो नारा लेकमा स्थापना भएको टावरबाट हिल्सामा रहेको हट्स्पट डिभाईस मार्फत एक लाईन इन्टरनेट सेवा प्रदान गरिएको र हिल्सा क्षेत्रको पाँच सय मिटर क्षेत्रमा काम गरिरहेको उनले बताए । एक दिनमा एकवटा मोबाइलमा ९० मिनेट चलाउन पाइने र त्यसपछि स्वत इन्टर नेट सेवा बन्द हुने उनले जानकारी दिए । यो सेवा निशुल्क रुपमा प्रदान गरिने छ ।
नेट सेवा सञ्चालनको समयावधि बढाउनेतर्फ पनि कम्पनीले तयारी गरिरहेको छ । चाँडै लिमीमा समेत इन्टर नेट सेवा बिस्तार गर्ने जनाएको छ । लिमीमा हाल एक लाईन भिस्याट टेलिफोन सेवा छ।