
सिमकोट – अघिल्लो आर्थिक वर्षको थप कोटाको खाद्यान्न काठमाडौँबाट केरुङ नाकाबाट तिब्बती मार्ग हुँदै हिल्सामा पुगेको छ । ढुवानीको जिम्मा पाएको सप्लायर्स कम्पनीले गत जेठमै ढुवानीको जिम्मा पाएको भएपनि तिब्बती मार्ग भएर खाद्यान्न ढुवानी गर्ने प्रकृया मिलाउन समय लागेपछि बल्ल खाद्यान्न हिल्सामा उत्रिएको हो ।
केरुङबाट हिल्सा खाद्यान्न आई पुग्न तीन दिन समय लागेको नेपाल खाद्य संस्थान सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले बताए ।
हाल ढुवानी भएको खाद्यान्न सिमकोट शाखाको लागि चार हजार क्वीन्टल र नाम्खा गाउँपालिकाको याल्बाङ बिक्री केन्द्रका लागि एक हजार पाँच सय क्वीन्टल गरि जम्मा पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न हिल्सामा उत्रिएको होे ।
अब सिमकोट शाखाको खाद्यान्न ट्रक मार्फत हिल्साबाट याल्बाङसम्म ल्याउने तयारी भैरहेको छ भने याल्बाङ बिक्री केन्द्रको खाद्यान्न नब्बे क्वीन्टल हिल्साबासीलाई वितरण गरिएको र अरु खाद्यान्न नाम्खाका सबै वडाहरुमा वितरण गरिने छ ।
हुम्ला जिल्लाकै माग अनुसार संस्थानको प्रधान कार्यालयले केरुङ नाकाबाट खाद्यान्न ढुवानीको व्यवस्था गरेको हो । हाल हिल्सामा ढुवानी भएको खाद्यान्न सबै जापनिज चामल भएको र यसको प्रतिकेजी मुल्य साठी रुपैयाँ देखि ७३ रुपैयाँसम्म पर्न आउने गरेको छ ।
यस पाली दसैँमा समस्या नहुँने
यत वर्ष दसैँ ताका दुई केजी खाद्यान्न पाएका हुम्लाबासीले यस पाली भने त्यो समस्या भोग्नु पर्ने छैन । हाल हिल्सामा आएको खाद्यान्न चाँडै सिमकोट आई पुगेपछि खाद्यान्न मौज्दात राम्रो हुने यस पालीको दसैँमा खाद्यान्न समस्या नहुने प्रमुख बिष्टले बताए ।
केही खाद्यान्न अहिले पनि सस्थानका गोदाममा मौज्ज्दात रहेको छ । त्यो सँगै चालु आर्थिक वर्षको पनि केरुङ नाकाको खाद्यान्न ढुवानीका लागि टेण्डर आव्हान भएर सप्लायर्स छनौट भैसकेको संस्थानले जनाएको छ ।
खाद्यान्न सस्तोमा ढुवानी
ढुवानी अनुदानको खाद्यान्न हवाई मार्ग भन्दा सस्तोमा ढुवानी भएको छ । यसले गर्दा खाद्य संस्थानलाई आर्थिक रुपमा पनि फाइदा भएको छ । अहिले केरुङ नाका हुँदै आएको खाद्यान्न प्रति केजी ८४ दशमलब ९५ रुपियाँमा ढुवानी भएको छ ।
जब कि सोही खाद्यान्न नेपालगञ्जबाट ११५ रुपैयाँ र सुर्खेतबाट १०५ रुपैयाँमा ढुवानी हुँदै आएको छ । यसबाट प्रतिकिलो २० देखि ३० रुपैयाँ संस्थानलाई आर्थिक रुपमा फाइदा भएको छ ।