टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा मंगलबार ऋषि पञ्चमीको अवसरमा महिला व्रतालुको घुइँचो थियो। व्रतालु महिलाहरुको सुरक्षा र सुविधाका लागि प्राथमिक उपचारदेखि लिएर राम्रो व्यवस्था गरिएको थियो। सुरक्षा दिने महिला–पुरुष प्रहरी दुबै थिए। अन्य महिलाहरु जस्तै प्रहरी महिलाहरु पनि पूजापाठ गर्दै आफ्नो काम गरिरहेका देखिन्थे।
नेपाल प्रहरी महिलाहरुले सामाजिक सुरक्षा दिनुका साथै अन्य महिलाहरु जस्तै आफ्ना परिवारको सुख र श्रीमान्को दीर्घायुका लागि व्रत बसेका थिए।
कोही ब्राह्मणसँग पूजा गराइरहेका थिए भने कोही पूजा सकेर धुप बालिरहेका थिए। आफ्नो जिम्मेवारी र संस्कृतिलाई उनीहरुले पनि सँग-सँगै खुसीका साथ निर्वाह गरिरहेका थिए, बर्दीधारी महिला प्रहरीहरु।
विगत १७ वर्षदेखि जागिरको सिलसिलामा काठमाडौँमा बस्दै आएकी प्रहरी प्रेमकुमारी बिकले परापूर्वककालदेखि चल्दै आएको चलनलाई मान्दै आएकाले बर्दीमै भए पनि व्रत र पूजापाठ गरेको बताइन्। उनले भनिन्, ‘ हामी बर्दीधारी महिला भए पनि धार्मिक अनुसार तीर्थ व्रत गर्दा परिवार, श्रीमान र देशलाई नै राम्रो हुने विश्वास छ। त्यसकारण यसलाई काँधमा जिम्मेवारी सँगसँगै सुरक्षा दिएर पनि निभाउने कोसिस गरेँ।’
उनले सुरक्षा दिने कामका बाबजुद पनि धार्मिक आस्था पनि मान्ने र दिनभरि तीजको व्रत पनि निर्जला बसेको बताइन्। ‘हाम्रो जति सुकै कडा ड्यूटी भए पनि हामीलाई भोक लाग्ने त्यस्तो केही भएन। महिला दिदीबहिनीहरुको सुरक्षामा खटिएर काम गर्दा एकदमै खुसी लाग्यो।’
यसरी चाडपर्वमा घर जान नपाए पनि महिलाहरुलाई सहयोग गर्न पाउँदा र प्रहरी संगठनमा नै रमाउन पाउँदा खुसी मिल्ने अन्य व्रतालु प्रहरी महिलाहरुको भनाइ छ।
भिडियो हेर्नुहोस्: