तपाईँ-हामी मस्त निद्रामा भएको बेला बंगलुरुस्थित ‘मिसन अप्रेसन कम्प्लेक्स’ को बिल्डिङमा रहेको चन्द्रयान -२ लाई नियन्त्रतित गर्ने ‘इसरो टेलीमेट्री ट्रेकिंग एन्ड कमान्ड नेटवर्क’ (ISTRAC) र ‘इन्डियन डिप स्पेस नेटवर्क’ (IDSN) का कर्मचारी, प्राविधिक र वैज्ञानिकहरुको आँखामा निद्राको सट्टा लक्ष्य भेदनको जागरूकता तथा एकाग्रता सन्निहित थियो।
इसरोका वैज्ञानिकको लक्ष्य ,’महाभारतका महानायक अर्जुनले केही फिटमाथि घुमिरहेको मत्स्यको नेत्रभेदन गर्नुभन्दा धेरै जटिल एवं मत्स्यभन्दा अति तीव्र गतिले अनन्त आकाशको सुदूरतम गहिराइमा प्रदक्षिणारत वस्तुलाई ‘हिट, टार्गेट वा प्रहार’ गरी घायल अथवा नष्ट गर्नुमा सीमित नभएर त्यस वस्तुलाई निर्दिष्ट समयभित्र त्वरित वेगले स्थानान्तरित गर्नु थियो।
इसरोको लक्ष्य पृथ्वीभन्दा झण्डै ३ लाख ८३ हज़ार किमी टाढा अन्दाज़ी २ किमी प्रतिसेकेण्ड अथवा १२० किमी प्रतिमिनेट अथवा आम बोलीचालीमा ७२०० किमी प्रति घन्टाको वेगले गतिमान थियो।
इसरोका वैज्ञानिकले बंगलुरुको नियन्त्रण कक्षाबाट आज बिहान सखारै ३ बजेर ४२ मिनेटमा अर्जुनको बाणरूपी आफ्ना ‘इलेक्ट्रोम्याग्नेटिक कमान्ड’ आफ्नो लक्ष्यतिर प्रक्षेपित गरे। १ दशमलब २ सेकेण्डमै आधुनिक अर्जुनका बाणले सह्श्रो योजनको विस्तार पारगरी चन्द्रयान-२ को ‘ल्याण्डर विक्रम’ लाई चैतन्य बनायो। उनीहरुको बाणरूपी ‘कमान्ड’ ले विक्रमको इन्जन प्रज्वलित भयो। र, आधुनिक अर्जुनको कर्मठता, सजगता र आफ्नो लक्ष्यप्रति जागरूकता, सटीकता एवं कार्य सम्पादित गर्ने कुशलता एवं त्वरिताको बखान कसरी कुन शब्द र शैलीले गर्ने? जम्मा ९ सेकेण्डमै विक्रमलाई उनीहरुले १०४x१२८ किमीको चन्द्रकक्ष (lunar orbit) बाट ३५x१०१ किमीको चन्द्रकक्षमा स्थानान्तरित गरेर ख़ुशी र सन्तोषको स्वास उदरस्थ गरे।
इसरो भन्छ- चन्द्रयान -२ को कक्ष परिवर्तनको यो अन्तिम प्रहसन थियो। अब यसै अवकाशबाट ७ सेप्टेम्बरको बिहान विक्रमलाई सोझै चन्द्रमाको दक्षिणी ध्रुवको मरुभूमिमा अवतरण गराइन्छ। चन्द्र अवतरणको समयतालिका अनुसार ७ सेप्टेम्बरको दिन प्रारम्भ हुनसाथ १ बजे देखि २ बजेको अन्तरालमा प्रक्रिया सुरु गरिनेछ।
यस क्रममा इसरोले ‘कमान्ड’ पठाएर चन्द्रसतहको ३५ किमीमाथि प्रदक्षिणारत विक्रमको इन्जन प्रज्वलित गरेर अवतरणको श्रीगणेश गर्ने छ। अवतरण गराउने प्राथमिक प्रयासमा विक्रमको गति २०० मिटर प्रतिसेकेण्डमा ‘कायम एवं स्थिर’ राखेर चन्द्र सतहको दिशामा झण्डै २९ किमीसम्म अघि बढाइने छ। यो गति भनेको पृथ्वीमा हामीले प्रयोग गर्ने विमानको गतिसरह नै हो। १ सेकेण्ड मा २०० मिटर भनेको ५ सेकेण्डमा १किमी हो, अर्थात ६० सेकेण्ड अथवा १ मिनेटमा १२ किमी। ६० मिनेट अर्थात एक घन्टामा यो गति भनेको ७२० किमी हुन्छ । हाम्रा व्यावसायिक विमान झण्डै यसै गतिले उडान गर्छन्।
यस गतिद्वारा विक्रमलाई २९ किमीको यात्रा गर्न झण्डै १४५ सेकेण्ड मात्रै लाग्छ। चन्द्रसतहबाट विक्रमको दूरी ६ किमी शेष रहँदा इसरोका अर्जुनहरुको हृदयको आरोहअवरोह ‘चिकित्सकीय उपकरणको परीक्षण क्षमताको अन्तिमबिन्दु’ नजिक पुग्छ।
अब विक्रमको गतिलाई सय गुना कम गरेर चन्द्रमाको दक्षिणी ध्रुवस्थित ‘मैन्जिनस -सी’ र ‘सिंपेलियस- एन’ नामक क्रेटरका मध्यको रिक्त स्थानमा सुरक्षित अवतरण गराउने काम नै यस चन्द्रयान-२ नामक भारतीय चन्द्र अभियानको ‘भीष्म वध’ जस्तो अविस्मरणीय एवं अमोघ कृत्य हो। १ मिमी सेकण्डको विलम्ब र कार्यसम्पादनहीनताले सारा प्रयास क्षणमै निष्फल बनाउन सक्छ।
इसरोले बाँकी रहेको ६किमीको दुरी पार गर्न विक्रमको गति २ मीटर प्रति सेकेण्डमा सीमित राख्नुपर्ने कडा चुनौती सामना गर्नुपर्ने हुन्छ। २ मिटर प्रतिसेकेण्ड भनेको १ मिनेटमा १२० मिटर अर्थात शेष रहेको ६ किमीको दुरी विक्रमले ३००० सेकेण्डमा वा भनौँ ५० मिनेटमा पूरा गर्नुपर्ने हुन्छ। चन्द्रमाको गुरुत्वाकर्षण विरुद्ध यति कम गतिले विक्रमलाई तल ओराल्नु नै यस अभियानको सबैभन्दा गाह्रो पक्ष हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘इसरोका अर्जुनहरुको पराक्रम एवं लक्ष्य भेदनको कौशल हेर्न ‘ नियन्त्रण कक्षमा उपस्थित रहनेछन्। भारतका लागि यो राष्ट्रिय गौरवका साथै अन्तराष्ट्रिय गौरवको ऐतिहासिक क्षण हुन गइरहेको छ।
इसरोका अनुसार ७ सेप्टेम्बरको बिहान २ बजेर ३० मिनेटभित्र ल्याण्डर विक्रमले चन्द्र धरातल स्पर्श गरिसक्ने छ। विक्रमले चन्द्रमामा अवतरण गर्नसाथ भारत चन्द्रमामा पुग्ने विश्वको चौथो राष्ट्रको दर्जामा स्थापित हुन पुग्छ। यसभन्दा अघि रूस, अमेरिका र चीनले मात्रै चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने सफलता पाएका छन्।
इसरोले मात्र होइन, संसार भरका अधिकांश अन्तरिक्ष एजेन्सी र अन्तरिक्ष विज्ञानमा अभिरुचि राख्ने जो कोहीले पनि व्यग्रतापूर्वक ७ सेप्टेम्बरको प्रतीक्षा गरिरहेका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































