
जनकपुरधाम– नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर भएको झडपको क्रममा घाईते भएका तपेश्वर मण्डलको बुधबार मृत्यु भएपछि विवाद चर्किएको छ।
बिहीबार मृतक तपेश्वर मण्डलका आफन्तले हंसपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डलसहित ४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कुमार कार्कीले जानकारी दिए। जाहेरी दर्ता भएपछि अनुसन्धान थालेको कार्कीले बताए।
त्यस्तै मेयरलाई कारवाहीको माग गर्दै बिहीबार जनकपुरधाममा मोटरसाईकल र्यालीसमेत निकालिएको छ। धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलविरुद्ध नारावाजीसहित र्याली निकालिएको थियो।
अहिले मण्डलको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
के थियो घटना?
गत साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर हंसपुर नगरपालिकामा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच चलिरहेको विवादले हिंसात्मक रुप लिएको थियो।
बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामानहरु जबर्जस्ती लिन पुगेका नगर प्रमुख रामज्ञान पक्ष र उपप्रमुख रेणु झा पक्षबीचको विवादले उग्र रुप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका थिए।
झडपमा हंसपुर नगरपालिकाका उपप्रमुख झा, हंसपुर नगरपालिका वडा २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्री लगायतका व्यक्तिहरु प्रहरीको लाठी चार्जबाट घाइते भएका थिए।
गम्भिर घाइते भएका तपेश्वर मण्डलको बुधबार मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ।