
धनगढी– बझाङ जिल्लाको नौबिस क्षेत्रमा ऐतिहासिक बिर्सती मेलाको रौनक देखिएको छ।
दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको केन्द्र रहेको थली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाले अहिले त्यहाँ निकै रौनक छाएको छ।
शुक्रबारदेखि शुरु भएको बिर्सती मेलामा लामो समयदेखि जिल्ला बाहिर रहेका स्थानीयहरु पनि घर फर्किएका छन्। दुर्गाथली र छबिसपाथीभेरा गाउँपालिकाको आस्थासँग जोडिएको बिर्सती मेलामा विभिन्न प्रतियोगिताहरु समेत सञ्चालन समेत भईरहेका छन्।
मेलामा भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, डेउडा दोहोरी लगायतका प्रतियोगिताको समेत आयोजना गरिएको स्थानीय बिष्णु दौल्यालले बताए। उनका अनुसार मेलाका अवसरमा नौबिसमा रहेको दुर्गादेवी मन्दिरमा धुमधामका साथ पुजाआजा हुने गर्दछ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको सो मन्दिरमा पुजाआजा गर्न बझाङ, बैतडी र डोटीदेखिका भक्तजनहरु पुग्ने गरेका दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले बताए।
अध्यक्ष जोशीका अनुसार परापूर्वकालमा नै देवी दुर्गा र सुर्मा देवी अलग हुँदा मन्दिर नजिकै रहेको ठूलो पाँगरको रुख सुर्मा देवीले च्यातेर लिएको दृष्य अहिले पनि देखिन्छ।
बझाङ जिल्लामा लाग्ने विभिन्न मेला चाडपर्वमध्ये नौबिसको बिर्सती मेला जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक हो।
बिर्सती मेलामा खाली खुट्टा जानुपर्छ भने मन्दिर रहेको बिर्सतीका ठुलो खेती गर्ने जमिन स्थानीय भाषामा जिउलोमा एकै दिन विउ राख्ने र रोपाई गर्ने गरिन्छ।
कार्तिकमा पनि एकै पटक धान काट्ने प्रचलन अहिले पनि कायमै रहेको लेकगाउँका स्थानीय कटक बुढाले बताए। उनका अनुसार अहिले पनि जिउलामा खाली खुट्टा जानु पर्ने धार्मिक बिश्वास कायमै रहेको छ।