
सिमकोट– पर्यटन प्रवर्द्धनका लागि आगामी असोज ६ र ७ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा सञ्चालन हुने कैलाश संगम कार्यक्रममा स्थानीय उत्पादन र अन्नबालीका परिकारहरुले मुख्य स्थान पाउने भएका छन्।
नाम्खा गाउँपालिका आफैमा पर्यटकीय क्षेत्र भएकोले यसको प्रचारका साथै स्थानीय रुपमा उत्पादन भएका बस्तु र अर्गानिक अन्नका परिकारहरुको स्वाद चखाउने याेजना अघि सारिएकाे हाे।
नेपाल र चीनको सीमाना जोडिएको गाउँपालिका भएको कारणले पनि सीमा जोडिएका चिनियाँ अधिकारीहरु र नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकार राख्ने व्यक्तिहरुकाे सहभागिता रहने छ।
कैलाश संगम कार्यक्रममा नाम्खामा भएका पर्यटकीय क्षेत्र, स्थानीय उत्पादन र अर्गानिक अन्नबालीबाट बन्ने परिकारलाई मुख्य आर्कषणका रुपमा प्रर्दशनीमा राखिने गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए।
नाम्खा गाउँपालिकाबासीले निर्माण गर्ने फुरु, जुम, बाखर लगायत काठका भाँडा, बहुमूल्य गरगहना, पोशाक राखिने छ भने अर्को नाम्खा मै उत्पादन हुने अन्नबाली तिते फापरको रोटी, ढिडो, लट्टेको रोटी, लिस्नुको फाडो, चोतीको अचार, जौ तथा उवाको सातु, माेही, दही, छुर्पी, जिम्मु लगाएका उत्पादन राखिने छ।
भूगोल ठूलाे भएको गाउँपालिका भएको कारण अहिलेबाटै यसको तयारीका लागि गाउँपालिका, वडाहरु, स्थानीय महिला समूहहरु लागिपरेका छन्।
पर्यटन प्रवर्द्धनकै लागि गत वर्ष नाम्खा गाउँपालिकाले लिमी महोत्सव सञ्चालन गरेको थियो। आगन्तुक टोलीलाई नेपाली भू–भाग नाक्खा–६ लिमीको लाप्चा लेकसम्म लगेर मानसरोवर कैलाशको दर्शन गराईने गाउँपालिकाले जनाएको छ।