
पोखरा – पोखरामा बन्न लागेको पर्यटन बसपार्कको काम दुई सातादेखि रोकिएको छ। राष्ट्रबैंक चोक नजिकै निर्माणाधीन बसपार्कको डिजाइन अनुसार काम हुँदा आफ्नो भवनको निकास बन्द हुने भन्दै स्थानीयबाट अवरोध भएको हो।
जसकारण पर्यटन विभागमार्फत आशिष/सिएम/मिसन जेभीले ठेक्का पाएको उक्त आयोजनाको दुई सातायता काम प्रभावित बनेको छ।
निर्माण जिम्मा पाएपछि जेठदेखि काम थालेको कम्पनीले हाल आठ इन्च स्ल्याब ढलान गरिसकेको छ। तर डिजाइनमा उल्लेख भएअनुसार ढलानको काम गरिरहँदा सामुन्नेमा रहेको निर्माण व्यवसायी संघ कास्कीले आफ्नो निकास रोकिने भन्दै काममा अवरोध सिर्जना गरेको निर्माण पक्षले बताएको छ।
निर्माण कम्पनीका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असीम बरालले विभिन्न बहाना देखाएर आयोजना प्रभावित बनाउने काम भएको जानकारी दिए। ‘बसपार्कको उत्तरतर्फ २० फुटको बाटो छोड्नुपर्छ भन्ने अडान उहाँहरुको छ’, उनले भने, ‘डिजाइनमा नभएको कुरा हामीले गर्न सक्दैनौँ।’
बसपार्कको डिजाइन अनुसार बीचमा आइल्यान्ड राखेर दायाँबायाँ वारपार हुने गरी बसहरु पार्किङ गर्न मिल्ने स्ल्याब बनाउने काम भइरहेको थियो। उक्त स्ल्याब निर्माण गर्ने क्रममा संघले आफ्नो भवन अगाडि अवरोध सिर्जना गरेको उनको भनाइ छ।
‘उहाँहरुले भनेअनुसार गर्ने हो भने बसपार्कको औचित्य नै हुँदैन । दुवैतर्फ बस पार्किङ गर्न मिल्ने गरी डिजाइन छ। डिजाइन अनुसार काम भएन भने पर्याप्त बस अटाउन सक्दैनन् र अन्ततः बसपार्कको योजना नै असफल हुन्छ,’ उनले भने।
पर्यटकीय नगरीमा थालिएको महत्वपूर्ण योजनाको कामलाई समय अगावै सम्पन्न गर्न निर्माण कम्पनीले रफ्तारमा काम गरिरहेको उनले सुनाए। बसपार्कको काम थालेसँगै पर्यटक बोक्ने बस अहिले नाजुक अवस्थामा सञ्चालनमा आइरहेका छन्।
गत फागनु २८ गते पर्यटन विभागसँग सम्झौता गरेको कम्पनीले २०७७ असोज २ मा सम्पन्न गर्नुपर्ने हुन्छ। काम थालेको आठ महिनामा भवन बाहेक संरचना निर्माण सम्पन्न गरी बस सञ्चालन योग्य बनाउने प्रयास अवरोधकै कारण असफल हुन लागेको इन्जिनियर बरालले चिन्ता व्यक्त गरे।
७ हजार ९ सय वर्गमिटरमा बन्ने बसपार्कको लागत ७ करोड ५० लाख रुपैयाँ छ।
डिजाइन नै परिवर्तन गर्न चलखेल
निर्माण व्यवसायी संघको भवनमा व्यापारिक प्रयोजनका लागि केही सटर भाडामा चलेका छन्। आफ्नै कार्यालयसमेत सोही भवनबाट सञ्चालनमा आएको छ।
उक्त भवनकालागि छेउपट्टिबाट सिधै राष्ट्रबैंकको मुख्य गेटअगाडि निस्कन सकिन्छ। तर पर्यटन बसपार्कको निश्चित डिजाइन अनुसार नै काम भए भवनले हाल पाइरहेको सार्वजनिक जग्गादेखिको निकास रोकिने छ।
बसपार्कको डिजाइन अनुसार काम रोक्न संघले भरपूर शक्तिको प्रयोग गर्न खोजेको देखिएको छ। पर्यटन विभागमा बसपार्कको योजना नै असफल बनाउने गरी डिजाइन परिवर्तन गराउन लागि परेको देखिएको हो।
डिजाइन परिवर्तन गर्न नहुने भन्दै स्थानीयस्तरबाट पोखरा महानगरपालिकाले विभागलाई पत्र पठाएको छ। भदौ १७ गते महानगरको योजना शाखाले पत्र पठाएको हो।
‘पोखरा पर्यटन बसपार्कको डिजाइन परिवर्तन सम्बन्धमा कुनैपनि काम र डिजाइन परिवर्तन नहुने गरी बसपार्क निर्माण प्रक्रिया अघि बढाउनु हुन,’ योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
डिजाइन परिवर्तन भएमा पोखराकै नमुना बसपार्कको योजना सम्पन्न हुनेमा निर्माण पक्षकै शंका छ। उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ। जग्गामा पर्यटन विभागले बसपार्कको आयोजना ल्याएको थियो। आयोजनाको अनुगमनको जिम्मेवारी महानगरलाई छ।
तर निर्माण व्यवसायी संघले अवरोध जारी राखेका कारण सुरक्षाको कारण देखाउँदै ठेकेदार कम्पनीले काम अघि बढाएको छैन। निर्माण व्यवसायी संघले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न मानेको छैन।
महानगर योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर काफ्लेले आयोजनाको निश्चित डिजाइन परिवर्तन गर्न चाहेर हुन नसक्ने बताए। ‘पर्यटन विभागले ठेक्का लगाएपनि महानगरले निरीक्षण गरेको छ। आयोजनाको काम छिटै अघि बढ्छ,’ उनले भने।