
पोखरा-मनाङको हुम्डे विमानस्थल नियमित सञ्चालन तयारीका क्रममा शुक्रबार बिहान समिट एयरले पहिलो उडान भरेको छ।
पोखरा विमानस्थलदेखि बिहान ८:३४ बजे उडेको समिट एयरको ‘९एन एएमजी एलइटी ४१०’साइनको जहाजले २५ मिनेटपछि हुम्डे विमानस्थल अवतरण गरेको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटन मन्त्री विकास लम्साल, प्रमुख सचिव हरि बस्याल, मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङ सहित विमानमा १५ जना सवार थिए । स्थानीयबासी, जनप्रतिनिधिहरुले उनीहरुलाई स्वागत गरे।
हुम्डे विमानस्थलमा पक्की धावनमार्ग बनेको झन्डैं ५ वर्षपछि नियमित उडान सेवा सुरु गर्न समिट एयरले पहिलो उडान भरेको हो। यात्रुको माग हेरेर नियमित उडानको तयारीमा जुट्ने समिट एयरका स्टेसन म्यानेजर पोषणमणि त्रिपाठीले जानकारी दिए।
पोखरा स्टेशनबाट मनाङ उडान अवरुद्ध हुँदा हिमालपारिका नागरिकलाई समस्या थियो। नियमति उडान गर्न प्रदेश सरकारले समेत चासो देखाएपछि मनाङबासी उत्साही छन्। विश्वप्रसिद्ध अन्नपूर्ण राउन्ड ट्रेकिङ गर्ने पर्यटकलाई समेत नियमित पोखरा-मनाङ हवाई सेवाले सहज बनाउने छ।
५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि उडान हुन सकेको थिएन। ९ करोड लागतमा पुनर्निमाण भएको विमानस्थल सञ्चालनमा ल्याउन यसअघि पटकपटक प्रयास थालिएको थियो।
विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ। विसं २०३९ असोजबाट निगमले पोखरा-मनाङ-पोखरा उडान भर्न सुरु गरेको थियो। बिहान मनाङ पुगेको टोली २ घन्टापछि पुनः पोखरा फर्किएको थियो।