
आज १३ सेप्टेम्बर भारतीय चन्द्रयान -२ को ल्याण्डर विक्रम चन्द्र धरातल पुगेको सातौँ दिन। तर ल्याण्डरको स्थिति भने अझै अज्ञात। अवतरणका क्रममा ७ सेप्टेम्बरको बिहान ओर्लिनुभन्दा २.१ किमी पहिला सम्पर्कविहीन भएको ल्याण्डरसँग सम्पर्क गर्ने इसरोका पूरा प्रयास अझैसम्म परिणाममुखी भएको छैन।
समय विस्तारै होइन,तीव्र गतिले ‘इसरोको आशा र आकांक्षामाथि पूर्णविराम लगाउनेतर्फ केन्द्रित भइरहेको छ। भनौ आजको ७-८ दिनभित्र यदि ल्याण्डर विक्रमसँग कुनै किसिमको सम्पर्क हुन सकेन भने इसरोले यससम्बन्धी सारा प्रयास बन्द गर्नेछ।
किन बन्द गर्छ इसरोले ल्याण्डर खोज्ने प्रयास?
ल्याण्डर विक्रम र यसभित्र राखिएको ‘रोभर प्रज्ञान’को आयु पृथ्वीको १३.५ दिन बराबरी मात्रै हो। यो चन्द्रमाको दिनको अवधि बराबर हुन्छ। चन्द्रमामा दिनको लम्बाई पृथ्वीको १३.५ दिन र रात्रिको लम्बाई पृथ्वीका १३.५ दिन (पृथ्वीको दिन भन्नाले यहाँको दिन र रात्रि दुवैको अवधि २४ घण्टा हो) बराबरी हुन्छ।
चन्द्रमामा एक दिन ( दिन + रात्रि ) को अवधि २७.३ पृथ्वी दिन लामो हुन्छ। कारण चन्द्रमाले आफ्नो अक्षको एक परिक्रमा पूरा गर्न पृथ्वीको २७.३ दिन लामो समय लगाउँछ।
इसरोले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रम ओराल्ने योजना बनाएको थियो। चन्द्रमाको यस भागमा ७ सेप्टेम्बरको बिहान सूर्योदय हुन गइरहेको थियो। सूर्योदय पश्चात् यस भागमा २०-२१ सेप्टेम्बरसम्म सूर्यको प्रकाश परिराख्छ। त्यसपछि भने यस भागमा रात्रिको समय प्रारम्भ हुन्छ।
इसरोले पठाएको ल्याण्डर र रोभर दुवै सौर्य ऊर्जाबाट सञ्चालित हुने उपकरण हुन्। ल्याण्डरले चन्द्रमामा जुन रूपमा अवतरण गरे पनि (सुरक्षित गरे पनि ) अवतरण पश्चात् यसको अवस्था जे जस्तो भएपनि २१ सेप्टेम्बर पश्चात् यससँग सम्पर्क गर्ने सारा ढोका बन्द हुनेछन्। ६५० वाट क्षमता रहेको ल्याण्डर आफू रहेको चन्द्र भू-भागमा रात्रि प्रारम्भ हुना साथ सदाका लागि निस्तेज हुन्छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा तापमान दिनको समयमा १२० डिग्री सेल्सियससम्म र रात्रिको समयमा माइनस २३२ डिग्री सेल्सियससम्म हुन्छ। १३.५ पृथ्वी दिन जति लामो चन्द्रमाको रात्रिकालिन अवधिमा ल्याण्डर विक्रम माइनस २३२ डिग्री सेल्सियस को चिसो खेपेर अर्को सूर्योदय ४ अक्टोबरसम्म आफूलाई सुरक्षित राख्न सक्दैन। तसर्थ इसरोले २१ सेप्टेम्बरपछि ल्याण्डर विक्रमसँग सम्पर्क गर्ने प्रयास बन्द गर्छ।
नासा पनि जुट्यो ल्याण्डरको खोजीमा
इसरोले ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि चन्द्रयान -२ को अर्बिटरमार्फत यसको खोजी गर्ने काम थाल्यो। यस क्रममा केही सफलता पनि पाइयो। अर्बिटरले ल्याण्डरका ‘थर्मल इमेज’ पठायो।
यी ‘थर्मल इमेज’बाट ल्याण्डरको मोटामोटी लोकेसन थाहा भयो, ल्यान्डर निर्धारित अवतरण स्थलबाट ५ सय मिटर टाढा रहेको ज्ञात भयो। तर ‘थर्मल इमेज’बाट ल्याण्डरको अवस्था र यसको स्थिति ज्ञात हुनसकेन।
‘थर्मल इमेज’ भनेको हामीले बुझ्ने फोटो होइन, यो एक किसिमको रेडिएसन इमेज’ हो। जसले ल्याण्डर चन्द्रमा को त्यस भागमा रहेको जानकारी त दियो तर यो भन्दा बढ़ी अन्य केही जानकारी दिन सकेन।
इसरोलाइ ल्याण्डर खोजी अभियानमा सहायता गर्न नासा अघि आएको छ। नासाले ल्याण्डर विक्रम हुनसक्ने सम्भावित चन्द्र भूभागको तस्वीर र ‘एरिया म्याप’ इसरोसँग साझा गर्ने भएको छ।
न्यूयोर्क टाइम्समा प्रकाशित समाचारका अनुसार नासाले ल्यान्डर विक्रम चन्द्रमामा पुग्नुभन्दा पहिला र अवतरण गरे पश्चात्को ‘म्याप’ र तस्वीर सार्वजनिक गर्ने भएको छ। नासाका प्रवक्ताका अनुसार, ‘इसरोलाइ ल्यान्डरको खोजी गर्ने क्रममा सघाउन नासा विक्रम ल्यान्डरले अवतरण गरेको क्षेत्र वरिपरिको ‘फ्लाईओभर इमेज’ इसरोलाई प्रदान गर्छ।’
नासाको ‘लुनर रिकोनेनेस अर्बिटर’ पनि चन्द्र अर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहेको छ। ‘लुनर रिकानेनेस अर्बिटर’ आउदो १७ सेप्टेम्बरका दिन चन्द्रमाको दक्षिणी ध्रुवस्थित यस भू -भाग माथिबाट गुज्रिनेछ।