
जनकपुरधाम– प्रदेश–२ मा डेंगीबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना डेंगीबाट संक्रमित भएका छन्।
मृत्यु हुनेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ११ का ३१ वर्षीय रामनारायण मण्डल रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी विजय झाले जानकारी दिए।
डेंगीबाट प्रदेश–२ काे पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित भएकाे छ। पर्सामा २५ जना, सिरहामा १२ जना, बारामा आठ जना, सप्तरी र रौतहटमा ७/७ जना, धनुषा र महोत्तरीमा ३/३ जना र सर्लाहीमा दुई जनामा डेंगी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका भित्र मात्रै १७ जना डेंगीका बिरामी भेटिएका छन्। उनीहरुको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका सूचना अधिकारी झाका अनुसार शुक्रबार साँझसम्म प्रदेशभरीको रिपोर्ट आएपछि बिरामीको संख्या बढ्न सक्ने बताए।