
धनगढी– सुदूरपश्चिम प्रदेश सभाले प्रदेशको राजधानी तोकेको एक वर्ष बित्दा पनि काम अघि बढ्न नसकेकाबेला नेकपा सुदूरपश्चिमको टोलीले राजधानी तोकिएको गोदावरी क्षेत्रको अवलोकन गरेको छ।
कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय कार्यान्वयमा नआएको भनी गोदावरी नगरपालिकाका स्थानीयले प्रदेश सरकारको आलोचनासँगै चाँडो कार्यानवयनका लागि दवावमूलक अभियान संचालन गरिरहेकाबेला गोदावरी क्षेत्रमा गएको नेकपाको टोलीले राजधानी निर्माण स्थलको भने टाढैबाट अवलोकन गरेको छ।
शुक्रबार गोदावरी गुरुयोजना अन्तर्गत भईरहेका कामको अवलोकन गर्न गएको टोलीले गोदावरीमा पछिल्लो समय बाढीले पुर्याएको क्षतिसँगै राजधानी तोकिएको क्षेत्रको पनि अवलोकन गरेको हो।
अवलोकन टोलीमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सांसद चुनुकुमारी चौधरी, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सह–इन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी, जिल्ला समन्यव समिति कैलालीका सभापति सूर्यबहादुर थापा लगायतको सहभागीता रहेकाे थियो।
टोलीमा सहभागी प्रदेश सभाकी सदस्य चुनुकुमारी चौधरीले प्रदेश सरकारले चालू आबमा राजधानीको लागि बजेट छुट्याएकोले अब काम शुरु हुने बताईन्। उनले नेकपाका शीर्ष नेताहरुको गोदावरी भ्रमण राजधानीको काम थालनीको रुपमा नै बुझ्न आग्रह गरिन्।
प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने प्रस्तावलाई गत वर्ष असोज १२ गतेको प्रदेश सभाको बैठकमा दुई तिहाइ बहुमतले पारित गरेको झण्डै एक वर्ष पुग्न लाग्दा पनि कार्यान्वय नभईरहेको बेला नेताहरुको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
वन क्षेत्रमा राजधानी राखिएको भन्दै अदालतमा दुई वटा रिट परेपछि राजधानी कार्यान्वयनको कार्य अगाडी बढ्न सकेको छैन ।