
पोखरा – गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रदेश सरकारको आयोजनामा पोखरामा मुल समारोह कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवरले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको मूल विशेषता रहेको सुनाए । संविधान देश र जनताको सम्पत्तिको रुपमा व्याख्या गर्दै प्रमुख कुँवरले यसको रक्षा गनुपर्नेमा जोड दिए ।
‘निरंकुश, एकीकृत र सामन्ति व्यवस्थाले सृजना गरेका सबै किसिमका उत्पीडन र विभेदको अन्त्य संविधानले गरेको छ’ उनले भने ।
विधिको शासन पालनाले मात्र शासन व्यवस्था बलियो हुने तर्क गर्दै प्रमुख कुँवरले सबैले विधिको शासनलाई आत्मसात गर्नुपर्ने समेत बताए ।
कार्यक्रमको अध्यक्षसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यशक्तिको स्रोत नेपाली जनतामा आउनु नै संविधानको उपलब्धि रहेको चित्रण गरे ।
संविधानले राज्यलाई बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिकयुक्त बनाएको भन्दै यसअघि राष्ट्रको व्याख्या हुन नसकेको सुनाए ।
स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी मुलुकका रुपमा व्याख्या हुनु नै संविधानको ग्रहणयोग्य पक्ष रहेको उनको भनाइ थियो । संविधान कार्यान्वयनमा सरकार सही बाटोमा रहेको समेत उनको दाबी छ ।
संविधान दिवसको अवसरमा सहिदचोकदेखि सभागृहसम्म र्याली निकालिएको थियो । मुख्यमन्त्री, मन्त्रीहरु, सभासद, कर्मचारीहरु र विभिन्न संघसस्थाले ¥यालीमा सहभागिता जनाए ।