
पोखरा– ५० प्रतिशत कैद भुक्तान गरेका कास्की कारागारका चार जना कैदी संविधान दिवसको अवसरमा रिहा भएका छन्।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका उनीहरुलाई रिहा गरिएको कास्की कारागारका जेलर गणेश गौतमले जानकारी दिए।
डाँकाचोरी एक, सरकारी किर्ते एक, गर्भपतन एक र सवारी ज्यान मुद्दामा एक जना गरी चार जना पुरुषले माफी पाएका हुन्।
‘५० प्रतिशत कैद भुक्तान गरेको, मुद्दा टुगिंएको र नकारात्मक सूचिमा नपरेकाले उनीहरुले सजाय माफी पाएका हुन्,’ जेलर गौतमले भने।
५० प्रतिशत कैद भुक्तान गरेकाहरुलाई कारागारमा उनीहरुले गरेको व्यवहारको आधारमा बाँकी कैद मिनाहाका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्न सकिने संवैधानिक व्यवस्था छ।
संविधानको धारा २ सय ७६ अनुसार राष्ट्रपतिले सरकारमार्फत कैद मिनाहा दिन सक्ने प्रावधान छ। सरकारको निर्णयअनुसार कास्की कारागारबाट माफी पाएका चारै जना आज छुटिसकेको जेलर गौतमले जानकारी दिए।