सिमकोट– हिल्दुम लघु जलविद्युत आयोजनाको नहरका लागि पेनस्टिक पाइप बोक्न जनप्रतिनिधि र जनप्रतिनिधिहरु पुगेका छन्।
निर्माण कम्पनीलाई पावर हाउसमा रहेका पाइपहरु नहरसम्म ढुवानी गर्न कठिन भएपछि जनप्रतिनिधि र कर्मचारीहरुको टोली निर्माणस्थल पुगेर पाइप बोक्न सघाएका हुन्।
विद्युत आयोजनाको नहरसम्म पावर हाउसमा रहेका १८ थान पाइप ढुवानी गर्न कठिन भएको खबर पाएपछि जिल्लामा रहेका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी र सुरक्षाकर्मी पाइप बोक्न निर्माणस्थल पुगेको जिल्ला समन्वय समितिका उपप्रमुख खगेन्द्र कार्कीले जानकारी दिए।
गत भदौ २० गतेपछि हिल्दुम लघु जलविद्युत आयोजना मर्मत तथा नयाँ पेनस्टिक पाइप जडान गर्न बन्द गरिएपछि काम छिटोछरितो गर्न सबै जना पाइप ढुवानी गर्न पुगेको बताइएको छ। झण्डै डेढ घण्टा उकालो पाइप बोकेर नहरसम्म पुर्याइएको थियो।
पेनस्टिक पाइप १ सय २० जनाले एकपटकमा आठवटा बोकेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कणबहादुर रावलले बताए। त्यसपछि पनि टोलीले बाँकी पाइप बोकेको थियो।
सबै पाइप बोकेर नहरसम्म पुर्याएपछि आगामी असोज आठ गतेसम्म विद्युतको परीक्षण गरिने आयोजनाका इन्जिनियर दावा जाङ्बु शेर्पाले बताए।
अब पाइप जडान गर्ने कार्य आइतबारसम्म सक्ने र नहर ढलान गर्न तीन दिन जति लाग्ने छ।
पाइप ढुवानी गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई, गुल्मपति बिक्रम थापा, राष्ट्रिय अनुसन्धानका डिएसपी सन्जिब चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार थापासहित अन्य जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
पेनस्टिक पाइप नयाँ जडान गर्ने कार्य स्थानीय उपभोक्तालाई दिइएको र उनीहरुले ९० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































