
सिमकोट – निकै चर्चामा रहेको तर काम गर्न कठिन सिमकोट हिल्सा सडक आयोजनाको च्याछरा भीर फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । भीर फुटाउन विष्फोट र मेसिनबाट कामलाई सँगै तीव्रता दिँदा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
निकै कठिन र काम गर्न असहज देखिएको सिमकोट हिल्सा सडक अन्तर्गत च्याछराको भीर छिचोल्ने कार्य अन्तिम चरणमा पुगेको नाम्खा गाउँपालिकाका वडा नम्बर ३ का स्थानीय पासाङ लामाले बताए । अहिलेको निर्माणको अवस्था हेर्दा दसैँ अगाडि नै सो भीरमा प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा हुने उनको दाबी छ । यसरी सहजै भीर छिचोलिएला भन्ने नसोचेको बताउँदै लामाले अब सिमकोट हिल्सा सडकले पूर्णता पाउने र गाडी गुड्ने नाम्खा गाउँपालिका जिल्ला कै पहिलो गाउँपालिका हुने बताए ।
कुल चार सय मिटर भीरको चट्टानी भाग भएको र विगत एक वर्षदेखि निर्माण कार्य गर्दा अहिले अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिध तेजबहादुर महतले बताए ।
अब जम्मा दश मिटर चट्टान मात्र बिष्फोट गर्न बाँकी रहेको छ । दसैँ भन्दा अगाडि नै त्यो चट्टानी भागलाई फुटाएर उक्त क्षेत्रमा प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भैसक्ने उनले दाबी गरे । उक्त क्षेत्रमा पनि विष्फोट गर्ने कार्यका लागि निर्माण कार्य भैरहेको छ । बाँकी अब उक्त सडकलाई चौढा बनाउन केही बिष्फोट गर्ने र मेसिनबाट गर्ने काम पनि भैरहेको छ ।