
सिमकोट – नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न हवाई मार्ग भन्दा केरुङ नाकाबाट पैदल मार्गबाट प्रति केजी तीस रुपैयाँ सस्तोमा हुम्ला आइपुगेको छ ।
काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बतको बाटो भएर हिल्सासम्म चिनियाँ कन्टेनर र त्यहाँबाट नेपाली ट्रिपरमा खाद्यान्न ढुवानी गरी सिमकोट आइपुगेको हो ।
संस्थानको ढुवानी अनुदानको खाद्यान्न मध्ये पाँच हजार क्वीन्टल काठमाडौँबाट केरुङनाका हुँदै तिब्बतको बाटो भएर हिल्सा हुँदै पहिलो लटमा एक सय ७० क्वीन्टल खाद्यान्न सिमकोट पुगेको संस्थानको सिमकोट शाखाका प्रमुख रामबहादुर बिष्टले बताए ।
अरु खाद्यान्न हिल्साबाट याल्बाङ हुँदै सल्लीमा आइपुगेको र अब एक हप्तामा सबै खाद्यान्न सिमकोट आइपुग्ने गरी सप्लायर्स कम्पनीलाई ताकेता गरिएको सस्थानले जनाएको छ ।
खाद्यान्न मात्र नआई सुर्खेत र नेपालगञ्ज भन्दा प्रति केजी बीस देखि तीस रुपैयाँ सस्तोमा खाद्यान्न हुम्ला आइपुगेको उनले बताए । केरुङबाट आएको कुल खाद्यान्न मध्य एक हजार क्वीन्टल याल्वाङ वितरण केन्द्रको भएको र सो खाद्यान्न उतै छोडिएको खाद्यान्न ढुवानीको जिम्मा पाएको श्रेया र देउती बज्यै कन्ट्रक्सन प्रालिका प्रतिनिधि ध्रुवबहादुर शाहीले बताए ।
दुई हप्ता अगाडि खाद्यान्न हिल्सामा आएको भए पनि सडक अबरुद्ध भएकाले ढुवानी गर्न नसकिए पनि ढुवानी कर्ता आफै डोजर लगाएर सडक सुधार गरेका कारण खाद्यान्न ढुवानी भएको होे । अब बाँकी तीन हजार सात सय तीस क्वीन्टल खाद्यान पनि दश दिनमा सिमकोट ल्याइउने जनाइएको छ ।
संस्थालने उक्त खाद्यान्न काठमाडौँ, केरुङ, हिल्सा, याल्वाङ हुँदै सिमकोटसम्म प्रति केजी ८४ रुपैयाँ ९५ पैसामा ढुवानी गरेको हो । सो खाद्यान्न नेपालगंजबाट प्रतिकेजी ११५ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १०५ रुपियाँमा ढुवानी गर्दै आइएको थियो ।