
सिमकोट-हिमाल पहाड तराई मधेश र नेपाली काँग्रेस भन्ने मुख्य नारा दिएर दोस्रो चरणको अभियानलाई सम्पन्न गर्दै नेपाली काँग्रेस हुम्लाले अभियानको समीक्षा गर्दै कार्यक्रमको समापन गरेको छ।
खार्पुनाथ गाउँपालिकाको केन्दै याङ्चुमा सञ्चालन भएको समापन कार्यक्रममा काँग्रेसले अभियान सन्तोसजनक रहेको निष्कर्ष समेत निकालेको छ।
प्रदेश सभा अन्र्तगत दुई क्षेत्र रहेको हुम्ला जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधिहरुको नेतृत्वमा काँग्रेसका जिल्ला स्तरका नेताहरु परिचालित भएका थिए। समापन कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले कामको सिजन र वर्षाको बेला पनि अभियानमा सर्बसाधरणको उपस्थिती, काँग्रेस कार्यकर्ताहरुको उत्साह देखेर हुम्ला काँग्रेस अभियान सफल भएको निष्कर्ष निकालेको काँग्रेस सभापति जयपति रोकायाले बताए।
दुई वटै क्षेत्रमा गरि अभियानका क्रममा काँग्रेसले दुई दर्जन अन्तरक्रिया तथा छलफलका कार्यक्रमहरु सञ्चालन गरेको उनले बताए।यस क्रममा केही वडामा वडा समिति गठन भएको, नेकपा र अरु दलका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको समेत सभापति रोकायाले बताए।
अभियान अन्र्तगत काँग्रेसले स्थानीय सरकारहरुले जनताको पक्षमा काम गर्न नसकेको निष्कर्ष समेत निकालेको छ।अहिले स्थानीय सरकारहरुले भ्रष्टाचार बढाएको , पार्टीकरण गरेको, उपलब्धिमुलक कार्य गर्न नसकेको समेत निष्कर्ष निकालेको छ।
यसको लागि हुम्ला काँग्रेसले छिट्टै समिक्षा समेत गर्ने जनाएको छ।अभियानमा ख नम्बर क्षेत्रमा केन्द्रीय प्रतिनिधि ऐन बहादुर शाही र ख नम्बर क्षेत्रमा दिनेश कोइरालाको सहभागिता रहेको थियो।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार हुम्ला काँग्रेसले भने सदरमुकाम सिमकोटमा प्रर्दशन नगरि खार्पुनाथ गाउँपालिकामा सो कार्यक्रम सञ्चालन गरेको थियो । उक्त गाउँपालिकामा आगामी मंसीर १४ गते उपाध्यक्ष पदको निर्बाचन हुँदैछ। निर्वाचनलाई मध्यनजर राखि काँग्रेसले अभियानको समापन कार्यक्रम सोही गाउँपालिकामा गरेको हो।