
सिमकोट– उच्च हिमाली क्षेत्रका पाटनमा चर्दै आएका भेडा विस्तारै वेशीतर्फ झार्न थालिएको छ। उच्च क्षेत्रमा हिमपात हुन थालेपछि चिसो बढ्दा भेडीगोठहरु वेशीतर्फ झार्न थालिएको हो।
चार हजार पाँच सय मिटरभन्दा अग्ला पाटनहरुमा भेडा चराउनु भेडी गोठालाहरुको दैनिक भएपनि अहिले चिसो बढेपछि वेशीतर्फ झार्न थालिएको भेडा गोठाला पाल्जोर लामाले बताए।
गत जेठ महिनामा लामा लगायतका गाउँलेले पाँच सयभन्दा बढी भेडा चुवाखोलाका अग्ला पाटनमा लगेका थिए। लामाले मात्र करिब डेढ सय भेडा गत जेठमा उच्च पाटनतर्फ लगेका थिए।
अहिले लामाले माथि चिसो बढेपछि विस्तारै तल झारिएको बताए। वर्षौदेखि ती पाटनमा भेडा चराउने गरेका उनले जब बुकीफुल पहेँलो हुन थाल्छ, त्यसपछि बिस्तारै चिसो बढ्ने भए पनि यसपाली भने केही दिन अगाडीको वर्षापछिको हिमपातले चिसो निक्कै बढाएको सुनाए।
त्यसैले पनि यसपाली अलि छिटो भेडालाई तल झारिएको हो।
यता रानीखर्कमा तीन महिनादेखि भेडा पालन गर्दै आएका खार्पुनाथ गाउँपालिका वडा नम्बर–३ थालीका सुरबहादुर रोकायाले तीन सय भेडाको बथानलाई बेशी झारेको बताए। चिसो अलि चाँडो बढेको कारण यसपटक अलि अगाडि नै भेडालाई तल झारिएको उनको अनुभव छ।
रमणीय र आन्नददायक भेडासँगको उच्च पाटनको जीवन अब विस्तारै वेशीतर्फ झार्दै छन् भेडा पालकहरु। रानीखर्कमा मात्र सबैभन्दा धेरै दुई हजारभन्दा बढी भेडा रहेको र ती सबै वेशी झार्न थालेको रोकायाले बताए।
उता नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को ह्याङसीका पाटनमा चार महिनादेखि भेडा पाल्दै आएका सिमकोट गाउँपालिका वडा नम्बर ७ का हरिबहादुर शाहीले पनि भेडालाई वेशी झारेको बताए।
उक्त क्षेत्रमा चार सयभन्दा बढी भेडा रहेको उनले बताए। पाटन बस्ने क्रममा भेडा गोठालाहरुले छुर्पी, ऊन र डोरी बाटेर ल्याउने गर्छन्।
हुम्ला जिल्लामा २५ हजारभन्दा बढी भेडा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ।
हाल उच्च पाटनबाट वेशी झर्न थालेका भेडाहरु मध्ये कति त दशैँमा बिक्री पनि हुनेछन् भने बाँकी अबको एक महिनापछि हुम्लाबाट बाजुरा, कालिकोट, बझाङ र अछामका वेशीतर्फ लग्न सुरु हुनेछ।