
सिमकोट–सरकारी संरचना अन्तर्गत छुट्टाछुट्टै रुपमा रहेको स्वास्थ्य संस्थाहरु सम्मिलित गरेर एकीकृत स्वास्थ्य सेवा कार्यालय स्थापना भएको छ ।
स्वास्थ्य जस्तो विषयमा छरिएर सेवा प्रदान गर्दा सेवाग्राहीलाई मर्का पर्ने र समन्वय पनि कम हुने देखिएपछि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा उक्त कार्यालय स्थापना गरिएको हो ।
पहिलेकै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रहेको स्थानमा एकीकृत स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले अब सेवाग्राहीलाई पनि उपचार तथा सेवा प्राप्त गर्न सहज हुने बताए ।
यसअघि छुट्टाछुट्टै कार्यालय हुँदा एक अर्कामा समन्वयको समेत अभाब थियो । कार्यालय सबै एक्कै ठाउँमा आएपछि अब त्यो समस्याबाट मुक्ति मिल्ने सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए । यसले गर्दा अब बिरामीहरुलाई निक्कै सहज हुने उनको भनाई छ ।