सिमकोट– दसैँलाई नयाँ कपडा लगाउने र मिठामिठा परिकार खाने चाडका रुपमा लिइने भएपनि हुम्लाका किसानहरुलाई यतिखेर कामको चटारो छ।
बारीमा फागुन–चैत्र महिनामा छरेको बाली पाकेर भित्र्याउने समय भएपछि हुम्लाका किसानलाई दसैँभन्दा पनि बढी कामको चटारोले च्यापेकाे हाे।
यतिखेर चिनो, फापर, कोदो, सिमि, कागुनो, मिठे फापर, आलु लगायतका बाली भित्र्याउने समय भएको कारण किसानहरुलाई दसैँभन्दा पनि कामको चटारोमा लागेको सिमकोट गाउँपालिका वडा नम्बर २ का किसान बाँच बोहराले बताईन्।
यतिखेर दसैँभन्दा पनि काम ठुलो देखिनु स्वभाविक भएको उनको तर्क छ। अष्टमीको दिन घरघरमा खसी काटिएको भएपनि मासु पनि राम्रोसँग खान नपाएको अनुभव उनले सुनाईन्।

बालकदेखि बृद्धसम्म सबैको ध्यान अन्नबाली भित्र्याउनमा ठिक्क छ। कामको सिजन र दसैँ सँगसँगै परेपछि किसानलाई काममा ध्यान दिनु बाध्याता हो। बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म गरि करिब १४ घण्टा किसानहरु खेतबारीमै रहनुपरेपछि कतिलाई त दसैँ आएको महशुस समेत हुन सकेको देखिँदैन।
कार्तिके बाली उच्च क्षेत्रबाट दक्षिण हुँदै पाक्ने भएको कारण माथिल्ला हुम्लाका किसानहरु बढी खेतिपाती भित्र्याउनमा व्यस्त देखिएका छन्।
अहिले कामको समयका काम नगरे भोली के खाने भन्ने चिन्ताले पनि किसानहरु चाडपर्वभन्दा पनि खेती भित्र्याउन लागिपरेका छन्।
जग्गा धेरै भएका किसानलाई भने कामले टाउको ठाडो गर्ने फुर्सद पनि नहुने किसानहरुले बताउन थालेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































