
सिमकोट– हिउँदको समयमा महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य हुम्लाका महिलाहरु बर्खाभरि भने काठको अस्थायी कटेरोमा बस्दै आएका छन्।
सामाजिक तथा धार्मिक मान्यता अनुसार महिनावारीका बेला घरमा बस्न नपाइने भएपछि उनीहरु खुल्ला आकाश मुनीको घरको गाह्रोलाई सहायता लिँदै काठको अस्थानी कटेरो बनाएर बस्न बाध्य भएका हुन्।
बर्खाभरि खुल्ला आकाश मुनी बस्नु परेको भएपनि पानी पर्न थालेपछि काठको अस्थायी कटेरो बनाएर तीन पटक महिनावारी हुँदा सात–सात दिन त्यहीँ भित्र बसेको स्थानीय धनकला शाहीले बताईन्।
पानी पर्दा ओत लाग्ने किसिमले बस्ने व्यवस्था महिलाहरुले आफै गर्ने गरेका छन्। महिलाहरु गाउँघरमा महिनावारी भएको बेला यसरी नै बसेको पाईन्छ।
काठको कटेरोको भरमा बस्नुको कारण भने एउटै हो महिनावारी भएका बेला घरभित्र बस्नै नहुने मान्यता। त्यो कटेरोमा केही कपडा ओढेर महिलाहरुले एक्लै रात कटाउँछन्।
उनीहरु हिउँदमा महिनावारी हुँदा छाउ गोठमा एक हप्तासम्म बस्ने गर्छन् भने बर्खाका बेला यस्ता कटेरामा चुहिएको पानीमा भिज्दै बस्ने गरेको जानकी फडेराले बताइन्। असोज महिनामा यस्तै कटेरोमा बसेर झण्डै सर्पले टोकेको उनले बताइन्।
त्यति मात्र होइन यसरी काम चलाउ कटेरोमा बस्दा महिलाहरुले अन्य समस्या पनि भोग्ने गरेको उनको भनाई छ।
यहाँ विवाहिता महिलादेखि अविवाहित युवतीसम्म यसरी काठको कामचलाउ कटेरोमा सुत्ने गर्छन्। यसरी बस्नु पर्दा आफूहरुले असुरक्षित महशुस गर्ने उनीहरुको गुनासो छ।
साथै यसरी काठको कटेरोमा बस्ने महिलाहरुलाई चिसोबाट विभिन्न स्वास्थ्य समस्यासमेत दखिने गरेको छ। जिल्लामा लामा समुदायका महिला बाहेक अन्य सबै जातिका महिलाहरुको याे साझा समस्या जस्तै छ।