
सिमकोट– कडा चट्टानी र असजिलो भीरका रुपमा रहेको च्याछरा भीरको प्रारम्भिक चट्टान फुटाउने कार्य सम्पन्न भएको छ । भीर छिचोल्ने कार्यका लागि विष्फोट गर्ने काम र मेशिनद्वारा काम एक साथ गरिएपछि चर्चित चट्टानी भीर फुटाउने कार्य सम्पन्न भएको हो ।
निक्कै चर्चित र असजिलो खण्डका रुपमा चिनिएको च्याछरा भीरलाई विष्फोट गरेर ट्रयाक खोल्ने कार्य पुरा भएको नाम्खा गाउँपालिकाका स्थानीय पेमा लामाले बताए । लामाले अब चाँडै गाडी सञ्चालनमा आउनु पर्ने बताए ।
चार सय मिटर कडा चट्टानी भीरलाई विष्फोट गरेर साढे चार देखि सात मिटर चौडा सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भएको श्रीजयन्ति ऐडी जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले बताए ।
उक्त भीरलाई विष्फोट गर्न र मेशिनले प्रारम्भिक ट्रयाक खोल्न साढे एक वर्ष समय अबधि लागेको हो । हिल्सा सिमकोट सडकको कुल लम्बाई ९५ किलोमिटर मध्ये अब डेढ सय मिटर मात्र सडक निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।