
सिमकोट–कर्णाली प्रदेशका हिमाली जिल्लामा राज्यले भुगोलको अनुपातमा सुरक्षाकर्मीको व्यवस्था गर्न नसकेको हुम्लाका स्थानीयले गुनासो गरेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पूर्णचन्द्र जैशीको उपस्थितिमा भएकाे नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो गुनासो गरेका हुन्।
क्षेत्रफलको हिसाबले ठूलो जिल्ला भएपनि जनसंख्या कम भएकै कारण प्रहरी चौकीमा आवश्यकता अनुसार सुरक्षाकर्मी नरहेको स्थानीय छिरिङ ग्याल्जन लामाले बताए। चौकीमा प्रहरीसमेत डराएर बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ।
जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा भएको कार्यक्रममा डिआईजी जैशीले कर्णालीमा भुगोल अनुसार प्रहरी दरबन्दीको व्यवस्था गर्नुपर्ने बताए। हुम्ला र डोल्पा जिल्लामा जनसंख्या कम भएपनि ठूलो भूगोलका कारण सबै ठाउँमा प्रहरीको उपस्थिति हुन नसकेको उनले बताए।
हुम्लाका गाउँबस्तीका नागरिकले प्रहरी चौकीसम्म पुग्न एक दिन पैदल हिड्नु पर्ने अवस्था छ।