
लक्ष्मी पूजा अर्थात धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा हुने दिन।
आइतबार बिहानैदेखि विराटनगर बजारमा सजिसजाउका लागि स्थानीय बासिन्दा जुटिरहेका छन् । विराटनगरको मुख्यतः मेनरोडमा लक्ष्मी पूजाको दिन विशेष चहलपहल हुने गरेको छ।
लक्ष्मी पूजाको दिन मेनरोडका पसल तथा घर घरमा दियो, बत्ती तथा केराको बोट गाडेर पूजा गर्ने परम्परा थियो। यसपटक भने यहाँका पसलहरुमा केराको बोट गाडेर दियो बाल्ने चलन कम भएको देखिएको छ । बिजुली बत्ती र अरु सजावटका समानको बाहुल्यता बढी छ ।
विराटनगर आसपासका स्थानीयका लागि भने केराको बोट राम्रो आम्दानीको माध्यम बनेको छ।
विगतमा घरघरमा केराको बोट पाइने भए पनि बढ्दो जनसंख्या र घर निर्माणले बजार क्षेत्रमा केराको बोट न्यून छ। आइतबार बिहान करिब २ बजेदेखि केराको बोट बेच्दै हिँडेका २४ वर्षीय हरिचरण यादवले मध्यान्नसम्म करिब ४० जोडी केराको बोट बिक्री गरिसकेका छन्।
जोडीको तीन सयदेखि चारसय रुपैयाँसम्ममा बिक्री गर्दै आएका यादवले महानगर आसपास, बुधनगर, भाथीगञ्ज, कटहरीबाट केराको बोट ल्याउने गरेका छन्। यादव भन्छन्, “बिहान २ बजेदेखि केराको बोट ल्याएर विभिन्न वडामा बेच्दै हिँडेकोछु। अहिलेसम्म करिब ४० जोडी बिक्री भइसकेको छ। बजार र गाँउघरमा बिक्री हुँदै आएको छ।”
यद्यपि मेनरोडमा विगत दुई दशकदेखि फर्निसिंगको व्यवसाय गर्दै आएका पुनित पौडेल पनि केराको बोटसँगै दियो बाल्ने परम्परा गएको दुइतिन वर्षदेखि छोडेको बताउँछन्। तिहारको मौलिक विशेषता, परम्परा, संस्कृति र पहिचान नै दियो र केराको बोट हुने भए पनि त्यसको व्यवस्थापनदेखि श्रमिकका कुराले गर्दा आफूले निरन्तरता दिन नसकेको उनी बताउँछन्।
आफ्नो फ्याक्ट्रीमा भने केराको बोट गाडेर दियो नै बाल्दै आएको बताएका पौडेल बजारक्षेत्रमा भने तिहार सकिएपछि व्यवस्थापन गर्न अहसज हुने, बजार क्षेत्र नै फोहर देखिने भएकाले केराको बोटमा त्यति आकर्षित नभएको बताँउछन्।
अर्कोतर्फ, विराटनगर महानगरपालिका भने तिहार तथा छठको समापनपछि सरसफाइ नै चुनौतिपूर्ण हुने जनाउँछ। महानगरका कार्यकारी प्रमुख एकदेव अधिकारी फोहर व्यवस्थापनका लागि महानगरले बजारक्षेत्रका व्यवसायसँग संयुक्त रुपमा काम गर्न पहल भइरहेको बताउँछन्।
मुख्यतः तिहार र छठमा केराको थम्बा, कागज प्लाष्टिक, लगायतको बढी फोहर हुने भएकाले महानगरसँगै व्यवसायी पनि त्यसको व्यवस्थापनका लागि सक्रिय हुनुपर्ने सुझाव दिन्छन्।
महानगर एक्लैले पनि फोहर हटाउन नसक्दा समस्या हुने बताएका अधिकारीले व्यवसायीहरुलाई फोहर व्यवस्थापन गर्न आग्रह गरेका छन्। उनी भन्छन्, “एकैपटक फोहर ब्यवस्थापन गर्न गाह्रो हुन्छ। तसर्थ व्यवसायीले फोहर संकलन गर्ने र फोहर व्यवस्थापनका लागि महानगरले गाडीको परिचालन गर्नेछ।”
विगत भन्दा यसपटक केराको बोट पनि बजारमा नभएको अर्का व्यवसायी मधु राई बताउँछन्। १२ वर्षदेखि केराको बोट नै पसलमा सजाउँदै आएका राईले पनि तिहारपछिको व्यवस्थापनमा असहज हुने उल्लेख गरे।
केराको बोट चिमडी, केशलिया, बर्जु, कटहरी, भाथीगञ्ज, बुधनगर लगायतका क्षेत्रबाट बिक्रीका लागि महानगर भित्रिने गरेको छ। बजार क्षेत्रसँगै गाँउगाँउमा ठेला, रिक्सादेखि ट्रयाक्टरमा ल्याएर केराको बोट बिक्री गर्ने गरिन्छ।