सिमकोट– हुम्लाको परम्परादेखिको पहिरनका रुपमा रहेको रातो काम्लो (बाक्लो खालको सल) जिल्लामा आउने उच्च ओहदाका पाहुनाका लागि उपहार दिने वस्तु बनेको छ।
दुई किसिमकाबाट तयार पारिने यो रातो काम्लो पाहुनाका लागि उपहारका रुपमा दिने मात्र नभएर जाडोमा ओड्ने कपडा पनि हो।
विशेष गरेर उत्तरी हुम्लामा बसोवास गर्ने लामा समुदायका मानिसहरुले परम्परादेखि हातैले बुनेर यसको प्रयोग गर्ने गरेको भए पनि यसलाई अन्य जातिका मानिसहरुले पनि प्रयोग गर्दै आएका छन्।

यसअघि हुम्ला जिल्लामा मात्र सिमित रहेकाे हुम्ली रातो काम्लो अब नेपालका सहरमा मात्र नभएर छिमेकी भारतसम्म पुग्ने गरेकाे छ।
यो एक वर्षमा हुम्ला आएका तीनजना पाहुनालाई राताे काम्लाे ओढाएर सम्मानित गरिएकाे छ।
जसमा गत जेठमा सम्पन्न बाईजाँउ हुम्ला कार्यक्रममा आएका नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई यही रातो काम्लोले सम्मान गरिएको थियो।
यस्तै गत कार्तिक ८ गते हुम्ला जिल्लाका एउटा विद्यालय भवनको सिलान्यास गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि त्यही रातो काम्लोले सम्मान गरेर उपहार दिइएको थियो।

यसका साथै जिल्ला अस्पताललाई औषधी तथा उपकरणहरु सहयोग प्रदान गर्न हुम्ला आएका नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीलाई पनि रातो काम्लोले सम्मान गरेर उपहार दिइएको छ। हुम्लाको पहिचान र मुल्य पनि महँगो हुने भएकै कारण उच्च ओहदाका मानिस आउँदा उपहारका रुपमा दिने गरिन्छ।
के बाट बन्छ राताे काम्लो ?
तिब्बती क्षेत्रमा पाईने च्याङ्ग्राको ऊनबाट स्थानीय लामा समुदायका मानिसहरुले यसलाई तयार गर्ने गर्छन्। सबै कुरा हातैले तयार पारिन्छ।
तिब्बतबाट ल्याएको ऊनलाई ताखुमा कातेर धागो तयार पारिन्छ। त्यो धागोलाई हातैले एक पटक पाईन दिएर तान बुन्नका लागि तयार हुन्छ। १५ देखि २० दिनमा एउटा काम्लोका लागि आवश्यक पर्ने पाखी तयार हुन्छ। पाखी तयार भएपछि त्यसलाई तातो पानीमा राम्रोसँग धोएर फेरि पाईन निकालिन्छ।
त्यसपछि उक्त पाली काम्लाको लागि तयार उनी कपडा बन्छ। त्यसलाई रङ्ग्याईन्छ। अनि मात्र रातो काम्लो सिलाएर ओढ्नका लागि तयार हुन्छ।
रातो काम्लोको प्रयोग
रातो काम्लो पनि सादा र बुट्टेदार गरि दुई किसिमबाट तयार पारिन्छ। विशेष गरेर यसलाई विवाहमा जन्ति जाँदा, अन्य अवसरमा ढाल–तरवार खेल्दा, फुर्का लेख्दा र अथितिहरुको स्वागत गर्नका लागि पुरुषहरुले ओढ्ने गर्छन्।
त्यसैगरी चाड पर्वमा महिलाहरुले पनि ओढ्ने गर्छन्। निक्कै न्यानो हुने भएको कारण हिमपात भएको बेला पनि ओढिन्छ।
मुल्य कति ?
हेर्दा सामान्य दखिए पनि यसको मुल्य भने महँगो छ। एउटा काम्लाेको मूल्य १० हजार देखि १५ हजारसम्म पर्छ। महँगो भएपनि प्राय हुम्लाबासीहरुले आफ्नो गच्छे अनुसार एक भन्दा बढी यस्ता काम्ला खरिद गरेर घरमा राखेकै हुन्छन्।


                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































