सिमकोट – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको भए पनि दलहरुले भने हालसम्म उमेदवारको टुङ्गो लगाउन सकेका छैनन्।
बुधबार खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुको परिसरमा उक्त कार्यालय स्थापना गरिएको हो।कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवं मुख्य निर्बाचन अधिकृत चन्द्रकान्त पौड्याल र प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले संयुक्त रुपमा गरेका थिए।
निर्वाचन कार्यालय स्थापना भएसँगै उपनिर्वाचनका गतिविधिहरु सुरु भएका छन्। अब कात्तिक २७ गते मनोनयन दर्ता र मंङ्सिर १ गते उम्मेदवारलाई चुनाव चिह्न वितरण गरिने बताए।
चुनावलाई निष्पक्ष र धाँधलीरहित किसिमले बनाउन सबै पक्षको सहयोग गर्ने अपेक्क्षा राखिएको उनले बताए। बुधबारबाटै प्रहरी चौकी पनि स्थापना गरिएको छ।
उक्त कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, प्रजिअ भट्टराई, निमित्त प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठ, गुल्मपति बिक्रम थापा लगाएको उपस्थिती रहेको थियो।
गत जेठ ३ गते कर्णाली नदीमा महेन्द्र बोलेरो जीस्प दुर्घटना हुँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त रहदै आएको थियो।
मुख्य गरी नेपाली काँग्रेस नेकपाले उम्मेरदवारको टुङगो भने लगाउन सकेका छैनन। मनोनयन दर्ताको समय आउन एक हप्ता बाँकी भए पनि पदबाट उम्मेरदवार छनौट हुन सकेको छैन।
यसै बिच मंसीर १४ गते हुने उपनिर्बाचनका लागि तीन हजार २९४ मतदाताहरुले चुनाबमा भाग लिन पाउने जिल्ला निर्बाचन कार्यालयले जनाएको छ। यसमा एक हजार ६३५ जना महिला मतदाता र एक हजार ६५९ पुरुष मतदाता रहेका छन्।
उप-निर्वाचनका लागि पाँच वटा मददान केन्द्रहरु निर्धारण गरिएको छ। यसमा मालिका माबि लागि, शंकर आधारभुत विद्यालय थाली, हुम्ला माबि राया, सीता माबि छिप्रा र मान्धारा माबि खर्पेलगाउँलाई केन्द्र तोकिएको छ।
यसैबीच उक्त उपनिर्वाचनका लागि दुई सय सुरक्षाकर्मी जिल्लामा आउन सुरु भएको छ। यसका एक सय जना जनपद प्रहरी र एक सय जना सशस्त्र प्रहरी आउने छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































