
पोखरा-रिक्त रहेको कास्की क्षेत्र नम्बर-२ प्रतिनिधि सभा सिटका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।
निर्वाचन आयोगको निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार प्रमुख दलसहितका स्वतन्त्र उमेदवारहरुले समेत आ–आफ्नो मनोनयनपत्र दर्ता गराएका छन्।
मनोनयन पत्र दर्ता गराउने क्रममा प्रमुख ठूला दल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारप्रति सबैको उत्तिकै चासो छ। नेकपाका तर्फबाट विद्या भट्टराईले मनोनयन पत्र दर्ता गराएकि छन्। नेपाली कांग्रेसका तर्फबाट भने खेमराज पौडेलले उम्मेदवारी दर्ता गराए।
मनोनयन दर्ता गराएपश्चात्त सञ्चारकर्मीहरु माझ छोटो प्रतिक्रिया दिएका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताको साथले आफूले चुनाव जित्ने पक्का आधार रहेको दाबी गरे।
जितको आधार के हो भन्ने प्रश्नमा उनले भने, ‘कहिले कसले जित्छ, कहिले कसले जित्छ । ट्रम्पले जित्छन् भन्या थिएनन् अमेरिकामा हैन र ?’ उनले प्रतिप्रश्न गरे।
बेलायतको चुनावी नतिजको प्रसँग उप्काउँदै कहिले कन्जरभेटिभ, कहिले लेबर, कहिले डेमोक्र्याटिक पार्टी अगाडि आउने उनले तर्क गरे। सत्तारुढ दलको दुई तिहाई आएपनि त्यसबेला गरेको बचनबद्धता पूरा गर्न नसकेकोले जनताले निरन्तरता दिन नसक्ने पौडेलले दाबी गरे।
उनको प्रस्तावकमा सोभियत अधिकारी र देवराज चालिसेले समर्थन गरेका छन्।उनीहरु दुवै आकांक्षी उम्मेदवार थिए। तर कांगे्रस केन्द्रीय समितिले कास्की २ मा खेमराज पौडेलको नाम टुंग्याएको थियो।
आंकाक्षीमध्येकै प्रस्तावक र समर्थक रहेकाले पनि एकताको सन्देश मार्फत कांग्रेस उम्मेदवारको जित सुनिश्नित रहेको पौडेलले सुनाए।