
फिक्कल – इलामको सूर्योदय नगरपालिका ९ को फिक्कल गैरी गाउँमा रहेको विपस्यना ध्यान केन्द्रमा उक्त केन्द्रका अध्यक्ष युक्त भेटवाल १६ औं ध्यान शिविर चलाउनका लागि तयारीका काम गरिरहेका थिए।
सोही ध्यान केन्द्रमा आइतबार साँझदेखि १६ औं विपस्यना ध्यान शिविर आयोजना हुँदैछ। भेटवालले भने, ‘देशका विभिन्न भागबाट ध्यानकर्ताहरु आउँदै हुनुहुन्छ। सोही ध्यान शिविरका लागि तयारीका काम भइरहेको छ।’
इलाम फिक्कल बजारबाट पशुपतिनगर जाने सडक बरबोटेबाट दाहिनेतिर जाने सडकबाट गैरी गाउँ पुगिन्छ। अत्यन्तै शान्त स्थान तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण ध्यान केन्द्रमा विपस्यना ध्यान शिविर आयोजना गर्न लागिएको हो।
कस्लाई चाहिन्छ ध्यान?
विपस्यना ध्यान अरु सामान्य ध्यान भन्दा अलि फरक किसिमको हुने गरेको ध्यानका आचार्यहरु बताउँछन्। उक्त ध्यान विशिष्ट किसिमको हुने उनीहरुको तर्क छ। खासगरि ध्यानको सुरुवातमा सासको गतिलाई मनन् तथा अध्ययन गरेर गरिने ध्यान विपस्यना ध्यान हो।
भगवानको बुद्ध प्राप्त गरेको बुद्धत्व विपस्यनामार्फत नै पाएको भन्ने बुझाइ पनि छ। सोही ध्यान केन्द्रमा भेटिएका विपस्यना ध्यानका आचार्य जनकराज अधिकारीले अशान्त मानिसका लागि विपस्यना अत्यावश्यक भएको बताए।
उनले भने, ‘जब मान्छे तनावमा हुन्छ त्यो बेला ध्यान चाहिन्छ। मनमा रहेका विकार फाल्न जरुरी हुन्छ। जुन सही रुपमा गरिएको विपस्यना ध्यानले मात्र संभव छ।’सुख सम्पति, परिवारमा देखेर मात्र नहुने सहायक आचार्य विष्णु भण्डारीले बताए।
उनले भने, ‘मानिसको दुःख राग, द्वेष र मोह हो। यसलाई फाल्नुपर्छ।’ मनुष्य जीवनको सर्वोत्तम सुखका लागि ध्यान आवश्यक भएको केन्द्रका अध्यक्ष भेटवाल बताउँछन्। उहिले भने, ‘ऋषिमुनीहरुले जप, तप अनि ध्यान भनेका रहेछन्। तर ध्यान चाहिँ ओझेलमा पर्यो। जुन अत्यावश्यक छ मानवको मुक्तिका लागि।’
भेटवाल आफै पनि बामपन्थी राजनीतिक जीवनबाट मुक्ति खोज्दै ध्यानको सहारा लिँदैछन्। उनी २०५६ सालको संसदीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं ४ का उम्मेद्वार थिए। त्यो बेला कांग्रेसका चक्रप्रसाद बाँस्तोलासँग पराजित भएका थिए।
भेटवाल भन्छन्, ‘राजनीतिमा सत्कर्म भएन। सत्कर्म नभएरै अहिले गुटमुखी राजनीति बन्न पुग्यो। सत्कर्म गर्ने प्रेरणा ध्यानले मात्र दिन्छ। त्यो पनि विपस्यना ध्यान। उक्त विपस्यना ध्यान केन्द्रमा अहिले ३० जनाको क्षमता छ। तर निकट भविष्यमा करिब १ सय ५० जना मानिसका लागि ध्यान गर्ने एउटा भवन बनाउन लागिएको भेटवालले बताए।