
पोखरा– बागलुङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा उपनिर्वाचनमा नेकपा र राजमोका संयुक्त उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्ती आफ्नो उम्मेदवारी फिर्ता लिन समयमै नपुग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट फर्किएका छन्।
नेकपा र राजमोका संयुक्त उम्मेदवार खिम विक्रम शाहीविरुद्ध बागी उम्मेदवारी दिएका घर्तीलाई नेकपाले उम्मेदवारी फिर्ता लगाउन दबाब दिइरहे पनि अन्तिम समयमा मात्रै उम्मेदवारी फिर्ता लिन राजी भएका थिए।
उपनिर्वाचन कार्यक्रम तालिका अनुसार आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको थियो। उम्मेदवारी फिर्ता गराउन नेकपाका स्थानीय नेताहरुले उनलाई हेलिकप्टरमार्फत सदरमुकाम ल्याएका थिए।
उनी रहेको बुर्तिवाङबाट सदरमुकाम आइपुग्न बसबाट झन्डै तीन घन्टा लाग्ने हुँदा समयअभावका कारण हेलिकोप्टर प्रयोग गरिएको नेकपा बागलुङ जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए। तर समयमै उम्मेदवार कार्यालयमा उपस्थित हुन नसक्दा उम्मेदवारी फिर्ता हुन नसकेको हो।
उम्मेदवारी फिर्ताका लागि दिइएको समय सकिएपछि घर्ती कार्यालयमा आएपनि उम्मेदवारी फिर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए।

तस्बिर स्रोतः उजिर मगरको फेसबुकबाट।
बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर उनलाई सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो।
पार्टीले कार्यकर्ताको योगदानको कदर नगरेको भन्दै घर्तीले गत कात्तिक २१ गते मनोनयनपत्र दर्ता गराएका थिए। उनको प्रस्तावकमा नेकपाकै दधिराम अर्याल र रिमबहादुर विक समर्थक छन्।
बोबाङ गाविसका अध्यक्षसमेत भइसकेका घर्ती गत ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदको चुनाव लडेका थिए।
उक्त क्षेत्रबाट ०७४ को प्रदेश सभामा निर्वाचित राजमोका सांसद टेकबहादुर घर्तीको हृदयघातका कारण गत मंसिरमा निधनभएपछि रिक्त भएको थियो। टेकबहादुर तत्कालीन वाम गठबन्धनबाट नै विजयी भएका थिए।