
जनकपुरधाम– प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका जाँदैछन् । लामो समयदेखि मुख्यमन्त्री कार्यालयले राहदानीको लागी प्रयास गर्दै आएकोमा कुटनीतिक राहदानी पाएपछि मुख्यमन्त्री राउतको अमेरिका यात्रा सुरु हुन लागेको हो ।
मुख्यमन्त्री राउतसँगै प्रदेश दुईका मुख्य न्यायधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका छन् । मंगलवार जनकपुरधामबाट दुवैजना प्रस्थान गरेका थिए भने आज अपरान्ह ३ बजे राजधानी काठमाडौँबाट अमेरिकाको लागि प्रस्थान गर्ने छन् ।
मुख्यमन्त्री राउत अमेरीकामा एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका(एन्टा)को साधारणसभामा भाग लिने छन् । एन्टा अमेरिकामा बस्ने मधेसी मूलको नागरिकहरुको संस्था हो । एन्टाको कार्यक्रममा गएका मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
अरु मुख्यमन्त्रीहरुलाई अमेरिका भ्रमणमा जान दिएपनि आफूलाई पटक–पटक रोक लगाउँदै आएको गुनासो मुख्यमन्त्री राउतले केहिदिन पहिला जनकपुरधाममा आयोजित नेपाल साहित्य उत्सवमा गरेका थिए ।
उनले राहदानी दिने क्रममा परराष्ट्र मन्त्रालयले १० दिनसम्म कुराएर अपमानित गरेको समेत बताएका थिए ।