
जनकपुर-आगामी मंसिर १४ गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागि महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा रित रहेको अध्यक्ष पदको लागि वुधवार २० जनाले उमेदवारी दर्ता गराएको छ।
विहान १० बजेदेखि १ बजेसम्म तय गरिएको समयमा ९ जना स्वतन्त्र गरी २० जनाले आ-आफ्नो उम्मेदवारी दर्ता गराएको मुख्यनिर्वाचन अधिकृत विष्णु शुवेदीले जानकारी दिएका छन्। पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको असामयिक निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुँदैछ। उप-निर्वाचनको लागि सबै पार्टीहरु बाजा–गाजाका साथ उम्मेदवारको मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए।
उपनिर्वाचनको लागि अध्यक्ष पदको लागि मनोनयन गराउनेहरुमा नेपाल कम्युनिष्ट पार्टीबाट बिक्रम चौधरीले उम्मेदवारी दिएका छन्। उनले गत निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचनमा चुनाव लडेका थिए र दोस्रो स्थान प्राप्त गरेका थिए।उनले यस अघि भएको निर्वाचनमा १८७३ मत ल्याएका थिए।
त्यस्तै यस अघि भएको स्थानिय निर्वाचनमा निर्वाचित पार्टी राजपा नेपालको तर्फबाट पूर्व गाउँपालिकाका अध्यक्ष विनोद चौधरीका श्रीमती रविता कुमारीले यस पटक उम्मेदवारी दिएकी छिन्।विनोद चौधरी २७७५ मत ल्याइ निर्वाचित भएका थिए।
त्यस्तै नेपाली काँग्रेसको तर्फबाट बिजय कुमार यादवले उम्मेदवारी दिएका छन् । समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएका छन्। उनले यस अघि भएको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट लडेका थिए भने उनले १५७८ मत ल्याइ तेस्रो स्थानमा रहेका थिए।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, नेपाल जनमत पार्टीबाट अन्जनी देवी मण्डल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै स्वतन्त्रमा गणेश कुमार यादव, किशोरी यादव, प्रदिप कुमार यादव, प्रविण चौधरी, रामवृक्ष यादव, पुनित अधिकारी, शैल देवी मण्डल, संजय कुमार यादव र रंजित कुमार झाको उम्मेदवारी परेको छ।
नेकपालाई विक्रम चौधरीमा विश्वास
आगामी मंसिर १४ गते हुन लागको उपनिर्वाचनमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा रित्त रहेको अध्यक्ष पदको लागि नेपाले विक्रम चौधरीमाथि विश्वास गर्र्दै उम्मेदवार बनाएको छ । यस अघि भएको निर्वाचनमा चौधरी दोस्रो स्थानमा रहेको थियो।
उनले आफ्नो राजनीतिक यात्रा तत्कालिन संघिय समाजवादी फोरमबाट २०४५ सालदेखि सुरु गरेका छन् भने २०७० साल देखि तत्कालिन नेकपा एमालेमा लागेका थिए । उनले मेकेनिकल इन्जिनियरिंगमा डिप्लोमा गरेका हुन्।
राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचन विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ। स्थानीय तह उपनिर्वाचनका लागि बुधवार चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
उनको उम्मेदवारी मनोनयनको समयमा प्रतिनिधिसभा सदस्य ईन्दु शर्मा, केन्द्रिय सदस्य राम कुमार शर्मा लगायत हजारौँको संख्यामा नेकपाको कार्यकर्ताहरुले बाजागाजाको साथ मनोनयन दर्ताको लागि निर्वाचन कार्यालय पुगेका थिए।
राजपाको तर्फबाट रविता चौधरीको मनोयन दर्ता
रित्त रहेको अध्यक्ष पदको लागि पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट रविता कुमारीले उम्मेदवारी दिएकी छिन् । रमिता स्वर्गीय विनोद चौधरीको श्रीमती हुन् । बिरामी रहेका अध्यक्ष विनोद चौधरीको गत वैशाखमा काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस उपनिर्वाचनमा सेन्टिमेन्ट भोट आउने भएकोले राजपा नेपालले रमितालाई आफ्नो उम्मेदवार बनाएको छ भने मनोनय दर्ताको समयमा उनले आफ्नो श्रिमानको अपुरो सपना पूरा गर्नका लागि उम्मेदवारी दिएको बताइन् । उनको उम्मेदवारीको समयमा प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सांसद लगायत विभिन्न कार्यकर्ताहरु निर्वाचन कार्यालयमा आएका थिए ।
समाजवादी पार्टीको तर्फबाट रामजानकी यादव
तत्कालिन नेकपा माओवादीबाट उम्मेदवार बनेका रामजानकीले नेकपाबाट आफुलाई टिकट दिने अवस्था नदेखेपछि उनी समाजवादी पार्टीबाट टिकट लिई उप निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन्।
उनले यस अघि भएको निर्वाचनमा नेकपा माओवादीबाट चुनाव लडेर तेस्रो स्थान हासिल गरेका थिए। कमीशन तन्त्रलाई अन्त गर्ने, पिपरा गाउँपालिकालाई सिचाई युक्त र बाढी मुक्त बनाउने लगायत विभिन्न विकास गर्न आफु उम्मेदवारी दिएको बताए।
पहिलो पटक चुनावी मैदानमा जनमत पार्टी
यस भन्दा पहिले भएको निर्वाचनमा कोठली भन्दा बाहिर छाप लगाउने नारा लगाएको सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो पटक चुनावी मैदानमा आएको छ । सिके राउत खुल्ला राजनीतिमा आएपछि पहिलो पटक उनको पार्टी उपनिर्वाचनमा आएको छ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा हुन लागको उप निर्वाचनको लागि जनमत पार्टी महोत्तरीले अञ्जुदेवी मण्डललाई आफ्नो उम्मेदवार बनाएको छ । मण्डलसँगै जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा आएका थिए।
राजपा-समाजवादी पार्टी बिच तालमेल जारी
केहि दिन पहलासम्म समाजवादी पार्टी र राजपा नेपाल संयूक्तरुपमा उम्मेदवारी दिने कुरा आएपनि आज भएको मनोनयन दर्तामा दुवै पार्टीले छुट्टा छुट्टै उम्मेदवारी दताए गराएको छ।
छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएपनि अहिले पनि राजपा नेपाल र समाजवादी पार्टीबिच संयुक्त रुपमा चुनाव लडन तालमेल भइरहेको राजपा नेपालका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताए।
उनले भने, ‘हामी तालमेल गर्न कुरा गरीरहेको छौ, कुरा मिल्यो भने संयुक्त रुपमा लडन तयार छौँ।’अहिले राजपा नेपाल र समाजवादी पार्टी बिच एकिकरण गर्न छलफल चलिरहेको समय पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि छुट्टा छ्ट्टै उम्मेदवारी दर्ता गराएको छ।
यसभन्दा पहिले भएको स्थानिय निर्वाचनमा छुट्टा छुट्टै चुनाव लडेको थियो भने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा संयुक्त रुपमा दुवै पार्टी लडेको थियो।