सिमकोट– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुम्लाका राजनीतिक दलहरुले चुनावी प्रचार सुरु गरेका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपाले चुनावी प्रचार सुरु गरेका हुन्। कांग्रेसले तारा शाहीलाई उम्मेदवार बनाएको छ भने नेकपाले रुपा शाहीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ र नेकपाले वडा नम्बर ५ बाट चुनावी प्रचार सुरु गरेका हुन्।
केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका जीवनबहादुर शाहीले नेपाली कांग्रेसले चुनावी प्रचारकाे नेतृत्व गरेका छन्।
चुनावी प्रचारका क्रममा आफ्नो उम्मेदवारी महिला र निम्न आयश्रोत भएका समुदायको परिवर्तनका लागि हुने कांग्रेस उम्मेदवार तारा शाहीले बताइन्।
कांग्रेसको चुनावी प्रचार अभियानमा कांग्रेस जिल्ला सभापति जयपति रोकाया, सांसद रंगमती शाही, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल लगाएको सहभागिता रहेको छ।
यस्तै नेकपाले पनि खार्पुनाथको वडा नम्बर ५ को दुर्पा गाउँबाट आफ्नो चुनावी अभियानको प्रचार–प्रसार सुरु गरेको छ।
केन्द्रीय सदस्य विजय भण्डारीको नेतृत्वमा चुनावी अभियानमा लागेको नेकपाले आफ्नो पार्टीलाई एकपटक मौका दिन मतदातालाई आग्रह गरेको छ।
सांसद छक्क बहादुर लामा, पार्टीका जिल्ला अध्यक्ष लालकेश जैसीलगायतको सहभागिता रहेको चुनावी प्रचार अभियानमा उक्त पार्टीकी प्रत्यासी रुपा शाहीले अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध आफ्नो उम्मेदवारी दिएकाे बताइन्।
पाँच वटा वडा रहेको खार्पुनाथमा एक वडाबाट अर्को वडामा पुग्न तीनदेखि चार घण्टा लाग्ने भएको कारण पनि दलहरुलाई चुनावी प्रचार गर्न कठिन देखिएको छ।
गत असारमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु हमालको जीप दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त रहेको थियो।
पाँच वटै मतदान केन्द्र संवेदनशील
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा पाँच वटै मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन्।
वडा नम्बर १ को मालिका मावि मतदान केन्द्र, वडा नं २ को शंकर प्रावि केन्द्र, वडा नम्बर ३ को हुम्ला मावि राया, वडा नं ४ को सीता मावि छिप्रा र वडा नं ५ को मान्धारा मावि खर्पेलगाउँलाई मतदान केन्द्र तोलिएको छ।
यस पटककाे उपनिर्वाचनमा ३ हजार ३ सय ८७ मतदाताले उपनिर्वाचनमा सहभागिता जनाउने भएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































