
काठमाडौँ – क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । हाल नेपालमा रहेका भारतीय लेजेण्ड क्रिकेटर तेन्दुलकर आइतबार बिहानै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि गएका हुन् ।
उनले पशुपतिमा विशेष दर्शन तथा पूजा गरेको जनाइएको छ । उनी गएको शुक्रबार राति नेपाल आएका हुन् । सचिनले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अवलोकन गरेका थिए ।
यस्तै त्यहाँ उनले क्रिकेट समेत खेलेका थिए । युनिसेफको आयोजनामा कीर्तिपुर मैदानमा भएको खेलमा सचिनको टिमले विनोद दासको टिमलाई पराजित गरेको थियो ।
बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल स्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।