सिमकोट– हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीबाट न्यालु लेकमा हिउँ पन्छाएर गाडी गुडाउन थालिएको छ।
पाँच हजार मिटर अग्लो उक्त लेकमा केही दिनअघि भएको हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरुले हिउँ फालेर सिमकोटसम्म टिपर सञ्चालनमा ल्याएका हुन्।
लिमीबाट मानिस र सामान सिमकोट पठाउनका लागि टिपरमा आएका स्थानीय बासिन्दाहरु मिलेर न्यालु लेकमा जमेको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएको नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
करिब तीन सय मिटर सडकमा जमेको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएको हो। एक फिट जमेको हिउँमा गाडी गुड्न नसकेपछि उक्त हिउँलाई यात्रुहरु मिलेर सडकबाट पन्छाएर गाडी गुडाइएको हो।
हिउँ पन्छाएर दुई वटा टिपर संचालन गरिएको थियो। १५ जना यात्रु तथा चालिस क्वीन्टल सामान बोकेका टिपरहरु न्यालु लेक पार गरेर सिमकोटतर्फका आएको अध्यक्ष तामाङले बताए।
न्यालु लेकको हिउँ पन्छाएर गाडी सञ्चालन गरिएपछि लिमीका बासिन्दाहरु सिमकोटबाट आउन जान सहज भएको छ।
हिउँदे सिजन सुरु भएसँगै उक्त लेकमा केही दिन अगाडी हिमपात हुँदा हिउँ जमेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए। धेरै हिउँ जमेको भए पन्छाउन नसकिएको भएपनि एक फिट मात्र हिउँ परेको कारण हिउँ फाल्न सहज भएको हो।
हिउँदे सिजन सुरु भएपछि काठमाडौं र दिल्ली जाने लिमीका बासिन्दाहरु आउनु सुरु भएको हो।


भर्खरै
लोकप्रिय






































































































































































































