
पोखरा-पोखरा महानगरपालिका वडा १५ का अध्यक्ष प्रकाश पौडेलले निर्वाचन आचारसंहिता मिचेको भन्दै उनी विरुद्ध जिल्ला निर्वाचन कार्यालय कास्कीमा उजुरी परेको छ।
नेपाली कांग्रेस जिल्ला समिति कास्कीले वडाध्यक्ष पौडेललाई निर्वाचन आचारसंहिता विपरित वडा १५ स्थित पट्नेरी क्षेत्रका बासिन्दालाई कम्बल वितरण गरेको आरोप लगाउँदै उजुरी दिएको हो।
कास्की कांग्रेसले निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने माथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ।
सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
उता वडाध्यक्ष प्रकाश पौडेलले भने सामाजिक सञ्जाल फेसबुकमा १२ थान ब्लाङ्केट वितरण गरिएको जानकारी दिएका थिए।
वडाध्यक्ष पौडेलको फेसबुकमा सोमबार फोटो सहित लेखिएको क्याप्सनमा ‘थ्री एन्जल नेपालको सहयोग र सहकार्यमा आज वडा १५ पट्नेरी बस्तीका विपन्न परिवारका १२ जनालाई एक÷एक थान जाडो मौसममा सुविधाको लागि १२ थान ब्लाङ्केट उपलब्ध गराइएको छ। सहयोगी संस्था थ्री एन्जल नेपाललाई धेरैधेरै धन्यवाद।’ उल्लेख छ।
पौडेलले आफू वडाध्यक्षको हैसियतमा थ्री एन्जल नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा अतिथिको रुपमा सहभागि मात्रै भएको जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जाँचबुझ पछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने बताए। पौडेल उनी पूर्व एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।