
पोखरा – पोखरा रंगशालामा महिला फुटबल प्रतियोगितामा दर्शकका लागि बस्ने प्यााराफिट जोड्ने काम बुधबारबाट अघि बढाइएको छ।
आउँदो मंसिर १५ गतेदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताका लागि रंगशालामा प्याराफिट व्यवस्थापनको काम अघि बढेको हो।
निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड दुई दिनअघि मात्रै पोखरा ल्याइएको थियो।
मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले पाँच दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए।
‘आइतबार सात कन्टेनर र सोमबार आठ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘पाँच दिनभित्र तयार हुने यो प्याराफिट ३ हजार ८ सय क्षमताको हुनेछ।’ उनले प्याराफिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए।
खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्नेसमेत बरालले जानकारी दिए। ‘केही दुबो आउन बाँकी छ। त्यो दुबो पनि साँझसम्म आइपुग्छ,’ उनले भने, ‘दुबो आइसकेपछि साँझबाटै हामीले काम सुरु गरिहाल्छौँ।’
मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्र्याकको कामसमेत धमाधम भइरहेको बरालले जानकारी दिएका छन्। उनका अनुसार ट्र्याक पाँच दिनभित्र पूरा भइसक्नेछ। ‘रंगशालाको काम अहिले ९० प्रतिशत पूरा भइसकेको छ। बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनले भने।
मंसिर १५ देखि २५ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौँ र जनकपुरमा हुनेछ। पोखरामा नाै, जनकपुरमा एक र बाँकी खेल काठमाडौँमा हुने तय भएको छ।
पोखरामा ट्रायथलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन खेल छन्। सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ।