
पोखरा – पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने भएका छन्।
नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको हो।
नेपाली नागरिकताका लागि उनले पेश गरेका आवश्यक कागजात हेरी मानार्थ नागरिकता दिनका लागि गृहले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत अरुण सापकोटाले स्मिथले सरकारको निर्णयानुसार नै नागरिकता पाउने जानकारी दिए।
‘संघीय मन्त्रिपरिषद्को निर्णयमा गृहले सम्मानार्थ जारी गर्न सक्छ’ उनले भने, ‘धेरै पहिले २ जनालाई सम्मानार्थ नागरिकता दिएको थियो। बिचमा लामो समय भयो दिएको छैन। ऐन वा कार्यविधिमा पनि प्रष्ट खाका नभएकाले गृहले केही तयारी गरेर दिन्छ।’
नागरिकता ऐन, २०६३ मा व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान भने उल्लेख छ। स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेशाका लागि नेपाल आएका थिए। उनी ८३ वर्ष पुगिसकेका छन्।
गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए। उनी पुतली विज्ञका रुपमा समेत परिचित छन्।
नेपाली नागरिकताका लागि पटक–पटक प्रयास गरेका स्मिथले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत निवेदन दिएका थिए। बेलायतमा आफ्ना कोही नभएको बताउने स्मिथ भन्थे, ‘नेपालमै अन्तिम सास फेर्न मन छ।’
जीवनको लामो कालखण्ड पुलतीको अनुसन्धानमै बिताएका स्थिमले त्यसबारे थुप्रै पुस्तक समेत प्रकाशन गरिसकेका छन्। स्मिथ पोखरा महानगरपालिका १८ ग्यारजातीमा बस्छन्। उनीसँग लामो सयम काम गर्ने एक परिचितको नामबाट घर जग्गा किनेर बस्दै आएका हुन्।
भिसा अवधि थप्दै नेपाल बसेका स्मिथलाई गृहले सम्मानार्थ नागरिकता दिलाउने खबर पाएपछि उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिएका छन्। उनी केहीदिनमै नागरिकता प्राप्तिका लागि पोखराबाट काठमाडौँ प्रस्थान गर्ने तयारीमा रहेको उनका निकटस्थले जानकारी दिएका छन्।
गृह स्रोतका अनुसार हालसम्म नेपालमा यसअघि २ जनाले मात्रै पाएका थिए। गत कात्तिक २९ को मन्त्रिपरिषद निर्णयले स्मिथसहित एक कोरियाली नागरिकलाई सम्मानार्थ नागरिकता दिने भएको हो।
नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ।