
हुम्ला – कर्णाली करिडोर अन्र्तगत खार्पुनाथ गाउँपालिकामा पर्ने भिगौडा भीरको कडा चट्टानलाई छिचोल्ने कार्य सम्पन्न भएको छ । उक्त क्षेत्र कर्णाली करिडोरका लागि कडा चट्टानी भूभाग भएको कारण असजिलो क्षेत्रका रुपमा हेरिएको थियो । तर अहिले चट्टान छिचोलेर सडक तयार भएको छ ।
यस अघि सोही भीरमा घोरेटो बाटो हुँदा बटुवाहरु डराई डराई हिँडिरहेको अवस्थामा अहिले भने भीर छिचोलेर सडकमा परिणत भएपछि सबैलाई सहज भएको बटुवा बताउँछन् ।
एक सय ५० मिटर लम्बाई रहेको चट्टान फुटाउन तीन महिना लागेको सब इन्जिनीयर अभिशेक राईले बताए । नौ देखि २१ मिटर अग्लो भीरलाई फुटाएर सडकको रुपमा झारिएको र अझै केही झार्न बाँकी छ ।
तर, चट्टान फुटाएर बनेको सडकमा गाडी गुडाउन सकिने अवस्था छ । ६ दशमलव सात मिटर चौडा सडक तय भएको छ । यसका लागि तीन महिनामा तीन हजार भन्दा बढी राउण्ड होल खोपेर बिष्फोट गरिएको सब इन्जिनीयर राईले बताए ।