
जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनलाई सबै पार्टीहरुले आ–आफ्नो प्रतिष्ठाको लडाईँका रुपमा लिएको पाइएको छ ।
उपनिर्वाचनको समय नजिकिए सँगै अहिले पिपरा गाउँपालिका चुनावी रंगमा रंगिएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । पिपरामा हुन लागेको उपनिर्वाचन व्यक्ति विशेष नभएर अहिले यो पार्टीको साखको कुरा बन्न पुगेको छ ।
यहाँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि लिएर निर्वाचनको विरोध गर्दै आएका सीके राउत सम्मका नेताहरु पिपरा गाउँपालिकामा आएर प्रचार प्रसारमा जुटेका छन् । पिपरा गाउँपालिकामा राजपा नेपालबाट निर्वाचित भएका विनोद चौधरीको मृत्यु पश्चात अहिले यहाँ उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनको लागि पिपरा गाउँपालिकामा २० जनाले आफ्नो उम्मेदवारी दिएका छन् जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिक्रम चौधरी, नेपाली कांग्रेसबाट विजय कुमार यादव, समाजवादीबाट रामजानकी यादव, राष्ट्रिय जनता पार्टी (राजपा) बाट रबिता चौधरी, जनमत पार्टीबाट अञ्जुदेवी मण्डल सहितकाले उम्मेदबारी दिएका छन् ।
उपनिर्वाचनको लागि उम्मेदवारी समेत दर्ता नभएको समय महोत्तरीको पिपरा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल लगायत नेकपाका मन्त्रिहरु आएर उपनिर्वाचनमा नेकपालाई मत दिएर विजय बनाउन आग्रह गरेका थिए । नेकपाले शुभकामना आदान प्रदान कार्यक्रममा नै आएर गाउँपालिकाको विकासको लागि नेकपाको विकल्प नरहेको भन्दै प्रचार प्रसार गरेका थिए ।
त्यस्तै केहि दिन पहिला सामाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले समेत पिपरा गाउँपालिकामा आएर आफ्नो पार्टीका उम्मेदवार रामजानकी यादवलाई उपनिर्वाचनमा विजय बनाउन प्रचार प्रसार गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधी समेत पिपरा गाउँपालिकामा प्रचार प्रसारमा होमिएका थिए । उनले पनि कांग्रेस बाहेक अब विकल्प नरहेको बताएका थिए । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु पनि अहिले उपनिर्वाचनमा प्रचार प्रसारमा लागेका छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचनको विरोध गरेका सिके राउत नेतृत्वको पार्टी राजनीतिको मुलधारमा आएपछि उनका पार्टी पनि अहिले चुनावी प्रचार प्रसारमा लागेका छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनको लागि सिके राउतले समेत यहाँ आएर चुनावी सभाको आयोजना गरी आफ्नो उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेको थिए ।
केन्द्रीय नेताहरु पिपरा गाउँपालिकाको निर्वाचनमा होमिएको छ भने उपनिर्वाचनमा उठेका उम्मेदवारहरु पनि अहिले अहोरात्र प्रचार प्रसारमा लागेका छन् । उपनिर्वाचनको समयमा अहिले पूरै गाउँपालिका चुनावी प्रचार प्रसारको सामग्रीले रंगि चंगि भएको छ । गाउँपालिकाको हरेक कुनामा जताततै चुनावी प्रचार प्रसारको पोष्टर, पम्पलेट, तुल, व्यानर झुण्ड्याइएका कारण पिपरा गाउँपालिकानै ‘रंगीन’ बनेको हो । उम्मेदबारहरुले आफ्नो प्रचार–प्रसार गर्न रंगीचंगी पर्चा, पम्पलेटको प्रयोग गरेका छन् ।
पिपरा गाउँपालिकामा घरदेखि लिएर चोक चौराहा, पोल र सार्वजनिक स्थानहरुमा समेत उम्मेदबारहरुले प्रचार–प्रसारको सामग्री टाँसेका छन् । कतिपय ठाउँमा तुल र ब्यानर बाँसमा गाडेर रुख झैं सजाइएको छ । एकै ठाउँमा बिभिन्न पार्टीबाट उम्मेदबारी दिएकाहरुले आ–आफ्नो तुल र ब्यानर झुण्ड्याएका छन् भने पर्चा, पम्पलेटले पिपरा बजार रंगीन बनेको छ । पिपरा बजारको हरेक पसल, रुखहरुमा पर्चा पम्पलेट टाँसिएको छ ।
उम्मेदबारहरु घरदैलो गर्न जाँदा पनि आफ्नो पार्टीको झण्डा, प्रचार प्रसारको सामग्री अगाडि पछाडि बोकेका कार्यकर्ताहरु रहने गरेका छन् । पिपरा गाउँपालिकाको उप निर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाउँदै आफ्ना पार्टीलाई निर्वाचित गराउन भरपूर प्रयासमा लागेका छन् ।
केन्द्रीय नेताहरुले आ–आफ्ना उम्मेदबारलाई जिताउन जनतासँग आग्रह गरिरहँदा उम्मेदबारहरुले भने एउटै साझा एजेन्डा लिएर मत मागिरहेका छन् । मुख्य प्रतिस्पर्धी उम्मेदबारहरुले अन्य एजेन्डाभन्दा पिपरा गाउँपलिकामा निर्माण भएको अस्पताल संचालन गर्ने आश्वासन दिइरहेका छन् ।
पिपरा गाउँपालिकामा १५ शैय्या अस्पतालको भवन बन्दा समेत संचालनमा आउन सकेको छ्रैन् । उम्मेदबारहरुले यही अस्पताललाई प्रमुख एजेन्डाको रुपमा अगाडी सारेका छन् । गाउँपालिकाको अध्यक्षका लागि ११ जनाको उम्मेदवारी दलहरुबाट परेको छ भने ९ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । पिपरा गाउँपालिकामा सात वटा वडा रहेको छ भने मतदाता संख्या १८ हजार ५ सय ८८ रहेको छ । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रह्ने निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।