
सिमकोट– हुम्लामा नेपाल खाद्य संस्थानको अनुदानको खाद्यान्न ढुवानी गरिरहेको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
केरुङबाट तिब्बती मार्ग हुँदै हिल्साबाट सल्लीसम्म गाडीमा ढुवानी भएको खाद्यान्न सल्लीबाट सिमकोट ढुवानी गर्ने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा टिपर दुर्घटना भएको हो।
दुर्घटनामा नाम्खा गाउँपालिका वडा नम्बर–१ हेक्पाकी नरी लामा र छिरिङकर्मा लामा र नाम नखुलेका अर्का एक जना पुरुषकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
लु ४ ख नम्बरको टिपर दिउँसो साढे तीन बजे दुर्घटना भएको हो। दुर्घटनामा पनि १२ जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ६ का खगेन्द्र रावत, सन्तोस सुनार, बक्त रोकाया, कमल रोकाया, अकिल रोकाया, राम कुमार सुनार, नरबिर सुनार, अंग फडेरा, घनसिंह भण्डारी र नाम्खा १ का खिउदार तामाङ, नाम्ग्याल तामाङ र नटुक लामा रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
घाइते मध्ये नौ जनालाई गाडीमा उद्धार गरिएको थियो भने तीन जनालाई घटनास्थलबाट स्टेचरमा ल्याइएको थियो।
उद्धारका लागि नेपाली सेना, प्रहरी र ठुलो संख्यामा सर्वसाधारण घटनास्थल पुगेका थिए। घाइते सबै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन्।
दुर्घटनामा गाडी चालक आनन्द तामाङ, एक महिला डिचिन तामाङ र उनकी छोरी सन्ध्या पाण्डे सामान्य घाइते भएकी छन्। चालक तामाङलाई प्रहरीले लागि नियन्त्रणमा लिएको छ।
याे दुर्घटना यस वर्ष हुम्लामा भएकाे तेस्रो सवारी दुर्घटना हो। यसअघि असार ३ गते बोलेरो जीप कर्णाली नदीमा दुर्घटना हुँदा ११ जनाकाे ज्यान गएको थियो भने गत कार्तिक २३ गते सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को सार्कीबाडामा दुर्घटना भएको थियो।