
पोखरा-मंसिर १४ गते शनिबार उपनिर्वाचनको क्रममा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने एकमात्र क्षेत्र कास्कीमा सुरक्षा सर्तकता बढाइएको छ। सुरक्षाकै कारण मतदान हुने दिन शनिबार कास्कीमा यातायातका साधन ठप्प हुने भएका छन्।
शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिबारसम्म अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सञ्चालनमा रोक लगाइने भएको कास्कीका सिडिओ रमेशकुमार केसीले जानकारी दिए । जिल्ला प्रशासनबाट चुनावी प्रयोजनका लागि पास लिएका सवारी बाहेक अन्यले प्रवेश नपाउने उनले बताए।
‘राजमार्ग हुँदै अन्य जिल्ला जाने सवारीको हकमा यात्रुलाई असुविधा नहोस् भन्नका लागि ३/३ घन्टामा नाकाबाट स्कर्टिङको व्यवस्था मिलाएका छौं,’ सिडिओ केसीले भने, ‘पूर्वमा कोत्रे खोला पुल(तनहुँ सिमाना), पश्चिम–उत्तरमा नयाँ पुल (पर्वत सिमाना) तथा दक्षिण पश्चिममा भकुण्डे (स्याङ्जा सिमाना)मा गाडी होल्ड गरी स्कर्टिङ गराइने छ।’ एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी लगायतका अत्यावश्यक सेवाका गाडी भने नियमित चल्न पाउने छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी फौजले गाडीलाई बीचमा यात्रु नचढाउने र नओराल्ने गरी स्कर्टिङ गराइने सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । मतदान अवधिभर कास्की क्षेत्र नम्बर २ लाई सम्पूर्ण सुरक्षाका तहले निगरानी गरिने उनले बताए।
उक्त अवधिमा अपरिचित व्यक्तिहरुको प्रवेश, अस्वभाविक व्यवहार र शंकास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न समेत जिल्ला प्रशासनले आग्रह गरेको छ।