
पोखरा-१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पूर्व सन्ध्यामा ओलम्पिक टर्च पोखरा आइपुगेको छ।
काठमाडौँको स्वयम्भुबाट सुरु भएको ओलम्पिक टर्च शुक्रबार पोखरा ल्याइएको हो।टर्चलाई ओलम्पियन सहित खेलाडीहरुले पोखरा रंगशालाबाट नगर परिक्रमा गराएका थिए।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी र्याली सुरु भएको थियो। पोखराका विभिन्न चोकहरुमा र्याली सहित परिक्रमा गरिएको थियो।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरिएको हो। ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्याउने क्रममा पोखरा आइपुगेका हुन्।
मंसिर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च र्यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जितबहादुर केसी, मुकुन्द हरि श्रेष्ठ, ज्ञानबहादुर बोहरा, कान्छी माया कोजु र राजकुमारी पाण्डे सहभागी छन्।
देशका विभिन्न भागको परिक्रमा पछि टर्च मंसिर १५ गते काठमाडौं पुर्याइनेछ।