काठमाडौँ– २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरपालिकाले शुक्रबार अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी विभिन्न खेलकुलको आयोजना गरेको छ।
ललितपुर महानगरले अपांगता भएका व्यक्तिहरुको सहभागितामा क्रिकेट, बास्केट बल, बोचिया बल र गोल बलको आयोजना गरेको हो। खेलकुदमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालसमेत सहभागि भएका थिए।
मेयर र उपमेयर दृष्टिविहीनहरुसँग आँखामा पट्टी बाधेर क्रिकेट खेलेका थिए। मेयर महर्जनले व्याटिङ र उममेयर सत्यालले बलिङ गरेकी थिइन्।
यस्तै मेयर र उपमेयरले ह्वीलचियरमा बसेर बास्केट बलसमेत खेलेका थिए। मेयर र उपमेयर दुबैजना चारवटै खेलमा सहभागि भएका थिए।
खेलकुदमा सहभागितापछि मेयर महर्जनले आफूलाई अपांगता भएकाहरुले कसरी कष्टपूर्ण जिन्दगी बिताइरहेका छन् भन्ने अनुभूति भएको बताए।
उनले ललितपुर महानगरपालिका अपांगता भएकाहरुलाई सहयोग गर्न सधैँ तयार रहेको भन्दै ललिलपुर महानगरमा भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री बनाइरहेको जानकारी दिए।
यस्तै उपमेयर सत्यालले घरभित्र रहेका अपांगता भएका व्यक्तिहरलाई घरबाहिर ल्याउन महानगरले पहल गरिरहेको बताइन्।
‘घरभित्र रहनुभएका अपांगता भएका व्यक्तिहरुको खोजी गरेर बाहिर ल्याउन हामीले वडाहरुमा परिपत्र गरिसकेका छौँ’, उनले भनिन्, ‘उनीहरुलाई बाहिर ल्याउन पहलकदमी गर्नुपछ भनेर आगामी दिनमा बजेट विनियोजन गरेर अपांगमैत्री कार्यक्रम गर्न उत्प्रेरित गर्छौँ।’
‘दिगो विकासको लक्ष्य, अपांगमैत्री भविश्य’ भन्ने राष्ट्रिय नाराका साथ डिसेम्बर ३ मा अन्तर्राष्ट्रय अपांगता दिवस मनाइदैछ।